जिल्ला समन्वय समिति धादिङको तेश्रो जिल्ला सभा सम्पन्न

2100 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ११ भदौ – जिल्ला समन्वय समिति धादिङको तेश्रो जिल्ला सभा मंगलबार धादिङबेसीमा सम्पन्न भएको छ । समन्वय समितिका प्रमुख जगन्नाथ नेपालको अध्यक्षतामा भएको जिल्ला सभाको प्रमुख अतिथि प्रदेश नम्बर ३ का मुख्य मन्त्री डोरमणी पौडेल रहनु भएको थियो ।

जिल्ला सभालाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि मुख्य मन्त्री पौडेलले स्थानीय तहले आँफुलाई संघीय सरकारको बैकल्पिक सरकारका रुपमा सोच्न नहुने बताउनु भयो । केन्द्रिय सरकारले अघि सारेको सुखी नेपाली सम्बृद नेपालीको लक्ष्य पुरा गर्न स्थानीय तहले साथ दिएमात्रै नेपालीहरुको मुहारमा खुसी आउने उहाँले वताउनु भयो ।

निति तथा कार्यक्रम पास नगरि, वजेट विनियोजन समेत नगरि काम गरिरहेका स्थानीय तहलाई संकेत गर्दै मुख्य मन्त्री पौडेलले अब त्यस्ता स्थानीय तहलाई प्रदेश सरकारले दिंदै आएको अनुदान तथा सहयोग रोकिने जानकारी दिनु भयो । अधिकांश स्थानीय तहले धेरैवटा कानून वनाएपनि त्यस्को जानकारी प्रदेश सरकारलाई नदिने गरेको कारण कुन स्थानीय तहमा के कस्तो कानून बनेको छ भने प्रदेश सरकारले जानकारी नपाएको समेत बताउनु भयो ।

यसै गरी धादिङ जिल्लाको सिद्धलेकमा केवुलकारको सम्भाव्यता अध्ययनका लागि प्रदेश सरकारले सहयोग गर्ने र सिद्धलेकलाई पर्यटकीय स्थलका रुपमा विकास गर्न सकिने भएकाले त्यस्को डिपिआर बनाएर अघि बढ्न सुझाव दिनु भयो ।

कार्यक्रमको बिशेष अतिथिमा धादिङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य खेम लोहनी हुनुहुन्थ्यो भने अतितिहरुमा धादिङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य भूमी त्रिपाठी, प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेल, ३ नम्बर प्रदेश सभाका सदस्य राजेन्द्र पाण्डे, डाक्टर रामकुमार अधिकारी, जिल्ला समन्वय समिति महासंघका अध्यक्ष रघुनाथ खुलाल, नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुंगाना, धुनिबेसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य लगायत रहनु भएको थियो ।


जिल्ला सभामा धादिङका १३ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, जिल्ला समन्वय समितिका सदस्यहरु, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरु,सुरक्षा निकायका प्रमुख, गैर सरकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति धादिङले गत आर्थिक बर्ष भरि सम्पन्न गरेका कार्यक्रमहरुको जानकारी गराईनुका साथै चालु आर्थिक बर्षको प्रस्तावित कार्यक्रमहरु माथि छलफल गरिएको थियो ।