गजुरी र बेनिघाटका कृषकलाई उद्यमशीलता विकास तालिम

1330 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ – धादिङको गजुरी र बेनिघाटरोराङ गाउँपालिकाका कृषकहरुलाई लक्षित गरि  उद्यमशीलता विकास तालिम सम्पन्न भएको छ ।

परम्परागत रुपमा स्थानीय स्तरमा कृषिमा आधारित निर्वाहमुखी कृषि व्यवसाय  गर्दै आएका कृषकहरुका लागि तीन दिन सम्म संचालन गरिएको उद्यमशिलता विकास तालिम मंगलबार सम्पन्न भएको हो ।

तालीममा सिकेको ज्ञान सीप व्यवहारमा लागू गरी कृषि पेशालाई व्यवसाय बनाउन प्रेरणा मिलेको किसानहरुले वताएका छन । लगानी र आम्दानीको लेखाजोखा गरेर व्यवसाय गर्नु पर्ने,व्यवसाय संचालन गर्दा ध्यान दिनु पर्ने विविध कुराहरु,अपनाउनु पर्ने सावधानीहरु र सफल उद्यमी बन्न गर्नु पर्ने कुराहरु तालीमबाट सिकेको कार्यक्रममा सहभागी हिमाली सामुदायीक संस्था छेपाङका सदस्य तथा कुखुरा व्यवसायी विशाल चेपाङले वताए । तालीममा सिकेको ज्ञानलाई व्यवहारमा लागू गर्न सके थप आम्दानी बृद्धि गर्न सकिने उनको भनाई छ ।
गठ्ठेडाँडा आत्मनिर्भर महिला समुहकी निर्मला चेपाङ, भस्मेखोला आत्मनिर्भर महिला समुहकी शान्ता चेपाङ,जलदेवी महिला समुहको कृष्णहरी चेपाङ, भँगेरी सामुदायिक विकास समाजका राम कुमारी चेपाङ र गजुरी १ का श्याम प्रसाद विसुन्के लगायतका सहभागीले पनि उद्यमशिलता विकास तालिम साना लगानीका कृषकहरुको लागि महत्वपूर्ण रहेको बताएका छन् ।

भदौ २२ आईतबारबाट शुरु भएको तालिम मंगलबार सम्पन्न भएको हो । प्रयत्नशिल सामुदायिक विकास समाज प्रयास नेपाल धादिङ र प्लानेट इन्फान्ट एण्ड डेभलपमेन्टसंगको साझेदारीमा सञ्चालन भएको तालिम महिला संरक्षण तथा शसक्तिकरण कार्यक्रमको सहयोगमा गजुरीमा सम्पन्न भएको हो । बेनिघाट र गजुरी गाउँपालिकाका ७ जना महिला सहित १३ जना सहभागी रहेका तालीममा गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत,उपाध्यक्ष सिता ढुङ्गाना ,प्रयास नेपालका अध्यक्ष सबिता अर्याल लगायतले सहभागीहरुलाई व्यवसायिक सफलताको शुभाकामना दिनु भएको थियो ।

सिकेको सिप व्यवहारमा लागू गरी पारवारिक आम्दानी बृद्धि गर्न सहभागीहरुलाई अनुरोध गरिएको प्रयास नेपालका सामाजिक परिचालक उषा थापामगरले जानकारी दिनु भयो । परम्परागत रुपमा जिविकोपार्जनको लागि थोरै पशुपालन गर्दै आएको भए पनि व्यवसायिक रुपमा आम्दानीको लागि ज्ञान सीपको अभावमा रहेका ग्रामीण कृषकहरुलाई व्यवसायीक र उत्पादन बृद्धि तथा बजारीकरण गर्न सहयोग पुर्याउन उद्यमशीलता तालीम संचालन गरिएको कार्यक्रम संयोजक सुनिल केसीको भनाई रहेको छ ।