सडकमा ३० किमि लामो सवारी जाम, नियन्त्रणमा पुगेन ध्यान

966 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- केहि दिन यता राजधानी प्रवेश गर्ने मुख्य सडक मार्ग त्रिभुवन राजपथको नागढुंगा देखि नौविसे सम्मको सडक मर्मतका नाममा घण्टौं सम्म सडकमा सवारी आवागमन ठप्प हुन थालेपछि लाखौं यात्रु मारमा परेका छन् ।

दसैंतिहार नजिकिएसँगै काठमाडौंबाट बाहिरिने यात्रुको संख्या दिनानुदिन बढिरहेको छ । देशका विभिन्न जिल्लाबाट आएर पढाईका साथै जागिर , व्यापार र अन्य काममा संलग्न रहेकाहरु मात्रै होइन अस्थायी तथा स्थायी वसोवास गरिरहेकाहरु पनि दशैं मान्नका लागि पुख्र्यौली घर जानेक्रम शुरु भईसकेको छ ।

दशैंका लागि भारत र तराईबाट राजधानी सम्म विभिन्न किसिमका सामानहरु ल्याउने चटारोले व्यापारीहरुलाई भ्याई नभ्याई छ ।  काठमाडौंबाट  विहान ६ बजे गाडी चढेका यात्रु धादिङ जिल्लाको सदरमुकाम धादिङबेसी आईपुग्न १२ घण्टा सम्म लाग्ने गरेको छ । यति मात्रै होइन राजमार्ग क्षेत्रका धार्के, महादेबबेसी, सिम्ले, गल्छी, बैरेनी,गजुरी मलेखुबाट काठमाण्डौं जान र काठमाण्डौंबाट यि ठाउँमा फर्कन पनि दिनभरको यात्रा गर्नु पर्ने वाध्यतामा यात्रुहरु रहेका छन ।

 सवारी जामले रौतहटबाट उपचारका लागि काठमाडौं जाँदै गरेका बिरामीको शुक्रवार विहान बस भित्रै मृत्यु भएको छ । रौतहटको गरुडा ८ निवासी ३५ वर्षका रुपलाल साहको पृथ्वीराजमार्गस्थित महादेवबेंसी बजारमा जाममा परेको बेला बिहान ५ बजे मृत्यु भएको आफन्तले बताएका छन् । गएको ५ दिनदेखी लगातार दैनिक अत्यासलाग्दो यस्तो जाम हुँदा प्रहरी प्रशासन र सडक विभागले चासो नदेखाएको सर्वसाधरणको गुनासो छ ।

बिग्रिएको बाटो, यात्रुको चाप भएकै बेला नागढुंगा–पिपलामोड सडक मर्मतका नाममा भदौ १५ देखि हरेक रात राजमार्ग बन्द गर्न थालेपछि यात्रुहरू सडकमै अलपत्र छन । तीनै तहको सरकारको उपस्थिती नहुँदा ‘जाममा परेका यात्रुलाई राजमार्ग छेऊका होटल पसलले ठग्ने गरेको गुनासो बढेको छ । मौका छोपेर एक प्याकेट चाउचाउ ५० रुपैयाँ, एक बोत्तल पानीको ६० रुपैयाँ असुल्ने कार्यमा सर्वसाधरण यात्रु निरीह भएर ठगिनुपरेको छ ।’

पानी पर्नु अघिसम्म हेलचक्र्याइँपूर्वक अपायक समयमा सडकमा खाल्डा टाल्ने नाममा अहिले ‘मान्द्रे’ पिच ओछ्यारहेको छ । पानी परेपछि त्यो पनि रोकिएको छ । सडकमा ठूला–ठूला खाल्डा परेकाले मालबाहक ट्रक तथा ट्रेलरहरु नागढुंगाको ओरालोमा बल्ल–तल्ल उक्लिँदैछन् । महानगरीय प्रहरी प्रभाग थानकोटका अनुसार ५ दिन यता जाम झनै विकराल बनेको छ । ‘पानी परेपछि जीर्ण बिग्रिएको छ । प्रहरीले रातदिन नभनी व्यवस्थापन गर्दा पनि जाम खुलाउन सकस भइरहेको छ । ‘उकालोमा सवारी रोकिँदा त्यसलाई तान्न एटा र्‍याकर छ, आज मात्रै त्यसले ६–७ वटा गाडी तान्यो,’ उनले भने, ‘र्‍याक र मोबाइल भ्यान जसरी दौडाउनुपरेको छ । हरेक समयमा सडकमा बसेर सवारी व्यवस्थापन गर्दा पनि प्रभाव देखिएको छैन ।’ प्रहरीका अनुसार पानी पर्न नरोकिएसम्म यो जाम कायम रहने देखिन्छ ।

सडक विभागको खाल्डा पुर्ने काम पनि वर्षाले प्रभावित गरेको छ । प्रहरी निरीक्षक खड्काका अनुसार हाल दशैंका कारण सवारीको आवागमनमा ठूलो वृद्धि भएको छ । ठूला सवारीहरु मालसमान बोकेर भित्रिने क्रम पनि उच्च भएको छ । यसका कारण नागढुंगामा सवारीको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।