नागढुंगाको जाम हटाउन सांसद त्रिपाठीको अग्रसरता

1379 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । गएको पाँच दिन देखि अस्त व्यस्त बन्दै आएको राजधानी भित्रिने मुख्य सडकमार्ग नागढुंगादेखी धादिङको गल्छीसम्म पुगेको सडक जाम हटाउन धादिङ क्षेत्र नम्बर १ का सांसद भूमी त्रिपाठीले सरोरकारवालाहरुसंग पहल गर्नु भएको छ ।

देशका ६७ जिल्लाका साथै छिमेकी देश भारतका धेरै वटा शहरवाट स्थल मार्ग हुंदै काठमाण्डौं प्रवेश गर्ने र काठमाण्डौंबाट बाहिरिने एक मात्र सडक मार्गमा केही दिन यता करिव ४० किलोमिटर लामो जाम हुंदै आएको छ ।

विभिन्न कामले काठमाण्डौं जाँदै गरेका र काठमाण्डौंबाट बाहिरिएका हजारौं यात्रु दश घण्टा भन्दा बढी सडकमा अलपत्र पर्दै आएका छन् । सडक जामका कारण शुक्रवार रौतहटबाट उपचारका लागि काठमाण्डौं आउँदै गरेका एक विरामीको बीच बाटोमै मृत्यु भएपछि सडक जाम बिरुद्ध सामाजिक सञ्जाल भरिएका छन । यो सबै घटनाक्रमलाई नजिकबाट नियालिरहेका धादिङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का सांसद भुमि त्रिपाठी र नेकपा धादिङका कार्यवाहक अध्यक्ष नेत्रराज पौडेलको अग्रसरतमा तत्कालको लागि जाम खुलाउन र दीर्घकालिन समस्या समाधानका लागि सरोकारवालाहरुको ध्यानाकर्षण गराउने काम भएको छ ।

सांसद त्रिपाठी र नेकपाका कार्यवाहक जिल्ला अध्यक्ष पौडेलले शुक्रवारनै गृह मन्त्री रामबहादुर थापालाई भेटेर तत्कालको लागि समस्या साधान गर्न आग्रह गरेका थिए । सांसद त्रिपाठीको आग्रह पछि गृहमन्त्रीले प्रहरी अधिकारीहरुलाई सडकको अवस्था र समस्या समाधानको उपायहरुको वारेमा जानकारी लिंदै तत्काल समाधानका उपाय खोज्न निर्देशन दिनु भएको छ । सांसद त्रिपाठीले चाड पर्वको बेला सवारी चापलाई ध्यान दिँदै ठुला सवारी रोकेर रातीको समयमा मात्र प्रवेश दिन, राजमार्गमा प्रहरीको संख्या थप गर्न र विग्रेका सवारी तत्काल हटाउन क्रेनको व्यवस्था गर्न गृहमन्त्री संग माग गर्नुभएको थियो ।

सांसद त्रिपाठीको अनुरोध पछि गृह मन्त्री थापाले ठुला मालवहाक सवारी केही दिन चितवनमै रोक्न निर्देशन दिनुभएको छ । सांसद त्रिपाठीले गृह मन्त्री पछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई पनि भेटेर राजमार्गको अवूथा, सुधारका उपा,यसडक जामका कारण यात्रुले भोगेको सास्ती, मुलुकको अर्थतन्त्रमा परेको असर र सरकार प्रति सञ्चार माध्यम र सामाजिक सञ्जालमा व्यक्त भएका आक्रोश बारे जानकारी गराउँदै सांसद त्रिपाठीले चाडपर्वको समयमा सडक मर्मतका काम स्थगित गर्न, विग्रिएका सवारी तत्काल हटाउन क्रेनको व्यवस्था गर्न माग गरिएको सांसद त्रिपाठीले वताउनु भएको थियो ।

सांसद त्रिपाठी नेतृत्वको टोलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा।.पुष्पराज कँडेल र आयोगका भौतिक पूर्वाधार हेर्ने सदस्य शुसिल भट्टलाई समेत समस्याबारे ध्यानाकर्षण गराएका थिए ।

सांसद त्रिपाठीको पहल पछि शनिवार विहान देखि नागढुंगाको जाम घट्न थालेको, शुक्रवार रातीबाटै गृह र यातायातको क्रेन सहित ३ वटा मेसिन सडकमा पुगेको, राजमार्गमा प्रहरीको संख्या थपिएको र ठुला मालवाहक सवारी चितवनमै रोकेर राती ११ बजेपछि मात्र छाड्न थालिएको छ ।