मनसुन अझै दस दिन लम्बिने-दशैं हिलाम्मे हुने संकेत

1156 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं, १२ असोज – नेपालमा मनसुन प्रवेश गर्ने औसत मिति जुन १० मानिन्छ भने सामान्यतया सेप्टेम्बर २३ सम्म मनसुन कायम रहन्छ।

मनसुनको अहिलेको सक्रियता हेर्दा अझै १० दिन मनसुन कायम रहने संकेत देखिएको छ। यो वर्ष नेपालमा मनसुन १० दिन ढिला अर्थात् जुन २० मा प्रवेश गरेको थियो।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालबाट मनसुन यो दिनबाट बाहिरिन्छ भनेर किटानी गर्न नसकिए पनि अहिले नै बाहिरिने संकेत भने देखिँदैन।

मनसुन अन्त्य हुनाका लागि मनसुनको न्यून चापीय रेखा बिस्तारै हट्दै जानुपर्छ र दक्षिण पूर्वी हावाको सट्टा पश्चिमी हावा बहन सुरू हुनुपर्छ।

महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार ‘अहिले पनि मनसुन सक्रिय रही सामान्य वर्षा भइरहेकाले मनसुन अझै हप्ता १० दिनसम्म कायम रहने सङ्केत देखिएको  छ’।

 मनसुन सधैं एकै समय सकिन्छ भन्ने हुँदैन मनसुन औसतमा सेप्टेम्बर २३ मा बाहिरिनुपर्ने हो। कहिले त्योभन्दा अगाडि र पछाडि हुन्छ। पछिल्लो केही वर्षको तथ्यांक हेर्दा नेपालमा सेप्टेम्बरमा मनसुन नसकिएर अक्टोबरसम्म पुग्ने गरेको छ। यस वर्ष पनि सेप्टेम्बरमा नसकिएर अक्टोबरसम्म पुग्ने सङ्केत देखिन्छ ।

विगत १८ वर्ष अवधिको मौसमी तथ्याङ्क हेर्दा नेपालमा पाँच वर्ष मात्र जुन १० अघि मनसुन प्रवेश गरेको छ भने अरू वर्ष ढिला नै प्रवेश भएको छ। मनसुन कायम रहने मिति पनि पछाडि धकेलिँदै गएको छ। मौसमविद्हरूले यसलाई पनि जलवायु परिवर्तनको असर हो भनेका छन्।

मनसुन प्रवेश गर्ने र कायम रहने मितिमा आएको परिवर्तनले खासगरी कृषिमा असर पारेको छ भने मानिसको जीवनशैलीलाई पनि प्रभावित तुल्याएको छ। वरिष्ठ मौसमविद् कँडेल भने यसमा जलवायु परिवर्तनको प्रभावबारे निक्र्यौल गर्न वैज्ञानिक अध्ययन नै गर्नुपर्ने सुझाउँछिन्।

मौसमी तथ्याङ्क हेर्दा सन् २००२ बाहेक सबै वर्ष मनसुन औसतभन्दा ढिलासम्म सक्रिय रहेको छ। सन् २०१३ मा त नेपालमा अक्टोबर १९ सम्म मनसुन सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् इन्दिरा कँडेल बताउँछिन्।

नेपालमा मुख्यगरी मनसुन बङ्गालको खाडीबाट प्रवेश गर्छ। केही मात्रामा अरेबियन सागरबाट समेत प्रवेश गर्ने गरेको छ। नेपालमा हिउँदमा वर्षा गराउने पश्चिमी वायु भने भूमध्य सागरबाट प्रवेश गर्ने गरेको विभागका वरिष्ठ मौसमविद् कँडेल बताउँछिन्।

उनका अनुसार नेपालमा जुनदेखि सेप्टेम्बरसम्मको चार महिनामा मनसुनको समयमा कूल वर्षाको ८० प्रतिशत वर्षा हुन्छ। यसैगरी प्रि मनसुनको समय ९मार्चदेखि मेसम्म० मा करिब १२, मनसुनपछि ९अक्टोबर र नोभेम्बर० चार र हिउँद् ९डिसेम्बरदेखि फेब्रुअरी० तीन दशमलव पाँच प्रतिशत वर्षा हुने गरेको छ।

हाल मनसुनी न्यून चापीय रेखा औसत स्थानबाट केही उत्तरतर्फ सरेको छ। भारतको गुजरात र अरब सागर आसपासमा न्यून चापीय प्रणाली रहेको छ। अर्को न्यून चापीय प्रणाली भारतको उत्तर प्रदेशमा रहेको छ।

हाल नेपालमा अरब सागर र बङ्गालको खाडीबाट आइरहेको जलवाष्पयुक्त वायुको प्रभावले मनसुनी गतिविधि केही सक्रिय रहेको महाशाखाले जनाएको छ।

आगामी मंगलबारसम्म देशभरका मौसम सामान्य बदली रहने र पूर्व र मध्यका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले प्रक्षेपण गरेको छ।

  • सेतोपाटीबाट