३ नम्बर प्रदेशमा ११ शीतभण्डार बन्दै

1480 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ–प्रदेश नं ३ सरकारले प्रदेशको ११ स्थानमा तरकारी तथा फलफूलको सुरक्षित भण्डारण गर्ने गरी शीतभण्डार निर्माण गरि सञ्चालन गर्ने भएको छ । शीतभण्डार निर्माणका लागि प्रदेश सरकारको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मार्फत ४५ करोड विनियोजन भएको छ । मन्त्रालयका अनुसार स्थानीय तह कृषि सहकारी संघ संस्थाको साझेदारीमा शीत भण्डार निर्माण गर्न लागिएको हो ।

चालु आर्थिक बर्ष भित्रै निर्माण गरिसक्ने लक्ष्यका साथ धादिङको वेनिघाट र चितवनको खैरहनीमा १५÷१५ सय टन, मकवानपुरको थाहा नगरमा १२ सय टन,सिन्धुपाल्चोकको लिंशखु र इन्द्रवाती, दोलखाको जिरी, रामेछापको मन्थली, सिन्धुलीको सुनकोसीमा ५÷५ सय टनको शीत भण्डारको निर्माण शुरु भएको मन्त्रालयले जनाएको छ ।
यसै गरि काभ्रेको बनेपा र रसुवामा ३÷३ सय टन र दोलखाको भिमेश्वरमा २ सय टनको शीत भण्डार निर्माण भईरहेको छ । एउटा शीतभण्डार निर्माणमा कम्तिमा चार करोड लगानी लाग्ने अनुमान गरिएको छ ।

तरकारी तथा फलफूल उत्पादनमा अग्रस्थानमा रहेको ३ नम्बर प्रदेशका विभिन्न जिल्लाका किसानले लामो समयदेखि शीत भण्डारको स्थापनाको माग राख्दै आएका थिए । शीतभण्डारको अभावमा किसानको लाखौं मूल्यको तरकारी तथा फलफूल कुहिने गरेको थियो । किसानको उत्पादनले बजार नपाउञ्जेल तथा उचित मूल्य नआउञ्जेल तरकारी तथा फलफूल शीतभण्डारमा राख्न मिल्नेछ ।