नीलकण्ठ नगरपालिकाको ९ नम्बर वडा कार्यालय तोडफोड

1681 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,१४ कात्तिक – तिहार विदाको समयमा कार्यालय वन्द रहेको मौका छोपेर धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ को ज्यामिरेमा रहेको ९ नम्बरको वडा कार्यालयमा अज्ञात समूहले तोडफोड गरी चोरी गरेको छ ।

तिहार विदाको समय पारेर अज्ञात समूहले कार्यालयको मुलढोका फोरेर भित्र पसि वडा अध्यक्ष र सचिवको कार्यकक्षमा लगाईएको ५ वटा ढोका समेत फुटाएको वडाअध्यक्ष भोजवहादुर रेग्मीले वताउनुभयो ।

तिहार विदा पछि विहिवार विहान पौने १० वजे कार्यालय पुग्दा सबैतिरको ढोका फोडिएको देखेर कार्यालय सहयोगीले आंफुलाई जानकारी गराएपछि वडा कार्यालय फुटाएर चोरी भएको थाहा पाएको वडा अध्यक्ष रेग्मीले जानकारी दिनुभयो ।

कार्यालयमा रहेका कम्प्युटर, प्रिन्टर, लगायतका सबै सामानमा कु्नै क्षती नभएको भएपनि वडाअध्यक्षको कार्यकक्षमा रहेको स्टिल दराज, टेवुल फुटाएको र वडामा भएका मेलमिलापको कागज गराएको फाईल भने हराएकोले यस बिषयमा प्रहरीलाई जानकारी गराईएको पनि वडाअध्यक्ष रेग्मीले वताउनुभयो । वडा कार्यालय बस्ति भन्दा केही पर एकान्तमा रहेको कारण घटना कहिले भएको भन्ने समेत खुल्न नसकेको स्थानीयले वताए ।

प्रहरीले घटना स्थलको अवलोकन गरि त्यहाँ भेटिएका प्रमाणहरुको संकलन गरेको र औठाछाप परिक्षण गरी घटनास्थलमा संलग्न व्यक्तिको पहिचान गर्न अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।