सिडियोको कार्यसम्पादनमा धादिङले ल्यायो ‘ए ग्रेड’

1137 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ – जिल्लामा संघीय सरकारका आधिकारिक प्रतिनिधिका रुपमा रहेका प्रमुख जिल्ला अधिकारीहरूको कार्यसम्पादन मूल्यांकनमा धादिङ जिल्लाले ‘ए’ ग्रेड ८८.७३ प्रतिशत प्राप्त गरेको छ ।

गृह मन्त्रालयले महाशाखाका प्रमुख तथा ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारी (सिडिओ)सग गत वर्ष कार्यसम्पादन मूल्यांकन सम्झौता गरेको थियो ।

एक महिना अघि मात्रै धादिङबाट सरुवा भएर ललितपुर जानुभएका भागिरथ पाण्डेको कार्यकालमा धादिङ जिल्लामा गरिएका कार्यहरुको मुल्याङ्कन हुँदा धादिङले ए ग्रेड प्राप्ताङ्क ल्याएको हो ।कार्य सम्पादन मूल्याङ्कनमा ७७ जिल्ला मध्येबाट धादिङ ११ औं स्थानमा रहेको छ ।

तत्कालिन प्रजिअ पाण्डेको कार्यकालमा धादिङका सबै स्थानीय तहमा घुम्ति शिविर  बजार अनुगमन तथा आवश्यकता अनुसार छड्के अनुगमन, कार्यसम्पादनको क्यालेन्डर लगाएत समुदाय केन्द्रित कार्यक्रमहरुले समेत प्राथमिकता पाएका हो ।

माघदेखि असारसम्मको कार्यसम्पादन मूल्यांकनमा शान्तिसुरक्षा तथा अमनचयनमा ४६ नम्बर राखिएको छ । त्यस्तै सुशासन तथा सेवा प्रवाहमा २७, शासकीय सुधार र रूपान्तरणमा ८, विपद् व्यवस्थापनमा १०, समन्वय तथा सहजीकरणमा ५ तथा सदाचार तथा आर्थिक अनुशासनमा ६ नम्बर राखेर मूल्यांकन गरिएको छ । धादिङमा शान्तिसुरक्षा, सुशासन, सेवा प्रवाह, विपद् ब्यवस्थापन, समन्वयमा प्रजिअ  पाण्डेले महत्वपूर्ण भूमिका खेल्नु भएको थियो ।

प्रजिअ  पाण्डेले  जिल्ला प्रशासनबाट प्रवाह हुने सेवा सुविधालाई छिटो छरितो बनाउनुका साथै सेवाग्राहीलाई अनावश्यक झन्झट हुने प्रक्रियालाई व्यवस्थित गर्नु भएको थियो ।

यसैबीच मकवानपुरबाट धादिङ सरुवा भएर आउनु भएका वर्तमान प्रजिअ आसमान तामाङले मकवानपुर जिल्लामा रहँदा भएको कार्य सम्पादनको मूल्याङ्कनमा ७७.३७ प्राप्ताङ्क आएको छ ।  ग्रेड बि मा रहेको मकवानपुर देशभरीबाट ५६ औं स्थानमा परेको  छ ।

छिमेकी जिल्ला रसुवा ९०.६९ प्राप्ताङ्क ल्याएर देशभरीमा तेश्रो भएको छ । रसुवाका प्रजिअ कृष्ण पौडेल र अर्जुन भण्डारीको कार्यसम्पादनको मूल्याङ्कन गरिएको हो । त्यसै गरि अर्को छिमेकी जिल्ला नुवाकोटले पनि ग्रेड ए ल्याएर ८३.३३ प्राप्ताङक प्राप्त गरेको छ । नुवाकोट जिल्ला देशभरीबाट २९ औं स्थानमा परेको छ ।

शनिबारको नयाँपत्रिकाले देशैभरीका सिडियोको विवरण सहितको समाचार प्रकाशित गरेको छ ।