निर्माण शुरु भएको ६ बर्ष वित्यो, अझै बनिसकेन पुल

1366 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ-  ठेक्का सम्झौता भएको ६ वर्षमा पनि धादिङको गल्छी गाउँपालिका–१ र नुवाकोटको वेलकोटगढी नगरपालिकाको केउरिनी जोड्ने पक्की पुल निर्माण सम्पन्न हुन सकेको छैन ।

गल्छी–रसुवागढी राजमार्ग जोड्ने त्रिशूली नदी माथिको १९२ मिटर लामो निमार्णधिन पुल निर्माण शुरु भएको ६ बर्ष भईसकेको छ । तर ठेक्का सम्झौता भएको ६ वर्षमा पनि पुल नबन्दा स्थानीय बन्दै गरेको पुल हेरेर चित्त बुझाउन बाध्य भएका छन ।

काठमाडौं र नुवाकोटबाट धादिङ जिल्लाको सदरमुकाम जोड्ने वैकल्पिक मार्गको रुपमा निमार्णाधिन धादिङबेशी–कोशीखोला–फोस्रेटार सडकमा उक्त पक्की पुल बनिरहेको छ । निर्माणाधिन पुलवारी नेपाल–चीन जोड्ने एक्सप्रेस राजमार्ग बनिरहेको छ भने पारीपट्टी ग्राबेल सडक पनि समेत निर्माण भईसकेपनि त्रिशूली नदी माथि बन्दै गरेको पुल भने सम्पन्न हुने छाँटकाँट नदेखिएको गल्छी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष पूर्णप्रसाद खतिवडा बताउनुहुन्छ ।

त्रिशूली नदीमाथि १९२ मिटर लम्बाइको पक्की पुल बनाउन मध्यमाञ्चल क्षेत्रिय सडक निर्देशनालय, डिभिजन सडक कार्यालय भरतपुरले २०७१ असार ३१ गते ठेक्का सम्झौता गरेको थियो । कुल १५ करोड ११ लाख ३५ हजार ५ सय ६४ रुपैयाँ ४२ पैसामा पुल निर्माण सक्ने गरी सपना र हिम्डुङ एण्ड थोकर र नार्गाजुन कन्स्ट्रक्सन जेभीले आयोजनाको ठेक्का पाएको थियो ।

त्यति बेला भएको सम्झौताअनुसार २०७४ असार ३० गते पुल बनिसक्नु पर्ने थियो, तर सम्झौता सकिएको गत असारमा दुई आर्थिक वर्ष सकिएर पनि चौथो महिना बित्नै लाग्दा पनि पुल बन्ने कुनै टुंगो नदेखिएको वडाअध्यक्ष खतिवडाले बताउनु भयो ।

विगतमा विभिन्न कारण देखाउँदै निर्माण कम्पनीले काममा ढिलाई गरेको भएपनि अहिले भने पुल तीब्र गतिमा बनिरहेको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीको दावी छ । आफूले कार्यालय सम्हालेदेखि तीब्र गतिका साथ काम गर्न निर्माण कम्पनीलाई ताकेता गरेको अधिकारीको दावी छ ।

ढलानको तयारी हुंदा हुंदै गत वर्ष हावाले फर्मा उडाएका कारण यो पुल निकै चर्चामा आएको थियो । अब पुलको दुई वटा स्पान निर्माण मात्रै बाँकी रहेको भएपनि निर्माण कार्य कछ्वा गतीमा भईरहेको स्थानीय बताउँछन ।

पुलको ठेक्का पाउने ठेकदार कम्पनी तीनवटा छन् । जसमध्ये हिम्डुङ एण्ड थोकर नुवाकोटबाट २०७० सालमा प्रतिनिधिसभामा नेपाली कांग्रेसबाट निर्वाचित सांसद बहादुर सिंह लामा (तामाङ्ग) को हो ।

पुल निर्माण सक्न तोकिएको अवधिभन्दा साढे दुई वर्ष बितिसकेको भए पनि ठेकदारलाई कुनै कारबाही भने गरिएको छैन । यता पुल निर्माणको जिम्मा ठेक्का पाएका लामा अहिले आएर पुल निमार्णमा आफ्नो कुनै संलग्नता नरहेको भन्दै साथीभाईलाई देखाएर पन्छिन थालेका छन् ।

निर्माणाधीन पुलमा ४० मिटर लामो ४ वटा स्पान (खण्ड) र बाँकी भूभाग पुलको लम्बाई १९२ मिटर प्लास्टरसहितको ढलान गरिने छ । सवारी गुड्ने ११ मिटर चौडा रहेको यो पुललाई प्रिस्ट्रेस पुल भनिन्छ ।