स्कुटर चोरेर बिक्री गर्ने चार जना धादिङबाट पक्राउ

1303 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,२९ कात्तिक । स्कुटर चोरी  गरि बिक्री गर्ने कार्यमा संलग्न रहेका चार जना लाई धादिङ प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।

स्कुटर चोरी गर्ने तथा चोरीका स्कुटर किन्ने कार्यमा संलग्न रहेको अभियोगमा धादिङको धुनिबेशी नगरपालिका-५ बाट बिहीबार उनिहरु पक्राउ परेका हुन् ।  पक्राउ परेका सबैलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय धादिङमा पत्रकार सम्मेलन मार्फत प्रहरीले सार्वजनिक गरेको हो ।  पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१२ बस्ने रोहन महर्जन, काठमाडौं महानगरपालिका-१२ टेकु बस्ने जुम्ला आचार्यबाडाका २१ वर्षीय रमेश शाही, काठमाडौं महानगरपालिका-१४ खसीबजार बस्ने सबिन शाक्य र धादिङ धुनिबेशी नगरपालिका-५ पुरन्डी बस्ने ४० वर्षीय कुमार रेग्मी रहेका छन् ।

धादिङ धुनिबेशी नगरपालिका-५ पुरन्डीमा चोरीको स्कुटर बेचबिखन भइरहेको भन्ने गोप्य सूचना प्राप्त हुनासाथ तत्काल ईलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको प्रहरीले रोहन महर्जन, रमेश शाही र सबिन शाक्यलाई उनीहरुको साथमा रहेका बा. ६७ प ५८८९ र बा.५५ प २०८४ नम्बरका स्कुटरहरु चोरी गरी ल्याएको खुल्न आएको र अन्य स्कुटरहरु कुमार रेग्मीलाई बिक्री गरिसकेको खुल्न आए पश्चात थप अनुसन्धानको क्रममा कुमारको घरबाट बा.५१ प ९१०६ र बा.८२ प ६०७१ नम्बरका स्कुटरहरु समेत प्रहरीले फेला पारी बरामद गरेको छ । उनीहरु उपर चोरी मुद्दामा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।