साङकोष आँगेटारीकी अचेत ‘लक्ष्मी’ बोल्न सक्ने भइन

1509 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं– धुम्बाराहीमा रहेको ह्याम्स अस्पतालमा उपचार गराईरहेकी धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १२, आगेटारीकी लक्ष्मी मगर बोल्न सक्ने भएकि छिन ।

दुई बर्ष अघि देखि शारीरिक र मानसिक समस्याबाट पीडित भई थला परेकी लक्ष्मीको बोली वन्द हुनुको साथै हातखुट्टा समेत चलन छाडेका थिए, सोही कारण उनी आंफै दिसा पिसाव समेत गर्न नसक्ने भई ओछ्यान परेकी थिईन । लक्ष्मीको अवस्था आज फेरिएको छ । अस्पतालको शैय्यामा रहेपनि उनी मानिससँग बोल्न र आफैं खान सक्ने भएकी छिन् ।

शारीरिक र मानसिक पीडाले ओछ्यानमै थला परेकी लक्ष्मीको उपचार गर्दागर्दै जग्गा जमिन समेत सकिएपछि ऋणको भारीले थिचिएर आफै मानसिक समस्याको सिकार भएका लक्ष्मीका पति यमबहादुरले ले कात्तिक २० गते   आत्महत्या गरेका थिए ।यमबहादुरको मृत्युपछि उनका आश्रित परिवारको बिच्चली हुन पुगेको थियो ।

यमबहादुरको मृत्यु्पछि लक्ष्मी र उनका छोराछोरीको कष्टकर अवस्थाका बारेमा विभिन्न संचारमाध्यमले बिशेष प्राथमिकताका साथ समाचारहरु प्रकाशन र प्रसारण गरेपछि उनिहरुको बास्तविकता बाहिर आएको थियो ।
संचारमाध्यमहरुले लक्ष्मी र उनकी छोरीको रोग र उनीहरुको आर्थिक अवस्थाबारे जानकारी पाएपछि काठमाडौंको धुम्बाराहीमा रहेको हस्पिटल अफ एड्भान्स मेडिसिन एण्ड सर्जरी (ह्याम्स)ले लक्ष्मी र छालासम्बन्धि जन्मजात रोग भएकी सोममायाको निशुल्क उपचार गर्ने प्रतिवद्धता गरेको थियो । सोही प्रतिवद्धता अनुसार आमा लक्ष्मी र छोरी सोममायाको अहिले ह्याम्स अस्पतालले निः शुल्क उपचार गरीरहेको छ ।

लक्ष्मीलाई लागेको रोग के हो ?
लक्ष्मीलाई ह्याम्स अस्पतालका मनोचिकित्सक डाक्टर रमन कोइरालाको टिमले उपचार र परामर्श गराइरहेको छ । डा. कोइरालाका अनुसार लक्ष्मी बोल्न र आफै खान मात्र होइन ह्वीलचियरको साहरामा हिँड्न पनि थालेकी छन् ।

‘अहिले उहाँ होशमा आउनुभएको छ, कुराकानी गर्नुहुन्छ, आफैले खानुहुन्छ, आँखा पनि झिम्क्याउनु हुन्छ र ह्वीलचियरमा अलिअलि हिँड्नुहुन्छ,’ डा कोइरालाले भने, ‘हामीले एकैपटक धेरै कुरा एक्सपेट गर्नुहुँदैन, तर विस्तारै उहाँको स्वास्थ्यमा सुधार हुँदैछ, पूर्ण रुपमा ठिक हुन अझै समय लाग्छ ।’डा कोइरालाका अनुसार लक्ष्मीको दिमागमा कुनै चोट छैन उनलाई क्याटटोनिया भन्ने मानसिक स्वास्थ्य समस्या भएको हो ।

‘पहिला ल्याएको बेलामा उहाँलाई आफ्नो अगाडी के भइरहेको छ । भन्ने थाहा नै थिइन, एउटै ठाउँमा सुतेको सुतै हुनुहुन्थ्यो, होस नै थिएन,यस्तो कन्डिसनलाई क्याटटोनिया भन्छौं हामी,’ डा कोइरालाले खबरहबसँग भने, ‘क्याटटोनिया भनेको कुनै व्यवहारमा परिवर्तन आउनु हो, यो दिमागको कारण पनि हुन्छ र शारीरिक कारण पनि हुन्छ । त्यसले मानिसको व्यवहारमा निकै परिवर्तन आउँछ, कि बाहिरको वातावरणमा कुराकानी नै नगर्ने कि भने एकदमै एक्साइटेड हुन्छ । उहाँहरुलाई कन्ट्रोल गर्न नसक्ने हुन्छ । उहाँलाई पनि क्याटटोनिया भएको हो ।’

डा कोइरालाका अनुसार लक्ष्मीको दिमागमा कुनै गम्भिर रोग देखिएको छैन । लक्ष्मीका प्यारालाइसिसको समस्या नभएको डा कोइरालाको भनाइ छ ।‘पहिला लडेर ढाडमा लागेको चोटको उपचार पछि त उहाँ पहिला नै हिड्न थाल्नुभएको थियो, त्यसैले उहाँको समस्यालाई प्यारालाइसिस नभनौं, त्यो बेलामा मेरुदण्डमा लागेको चोट हो, दिमागमा चोट लागेको होइन रहेछ, हामीले सिटी स्क्यान गरेको हेरेका छौं दिमागमा चोट छैन,’ डा कोइरालाले भने, ‘उहाँलाई मानसिक समस्या थियो उहाँले औषधि पनि खानुभएको थियो । तर बीचमा औषधि छोड्दा समस्या बढ्दै गएको रहेछ ।’
सोममायाको रोग के हो ? कसरी हुँदैछ उपचार ?
मगर परिवारमा लक्ष्मी मात्र बिरामी छैनन् । उनकी कान्छी छोरी सोममाया पनि जन्मजात छाला सम्बन्धि गम्भिर रोगको उपचारको पर्खाइमा थिइन् । सोममायाको पनि ह्याम्स अस्पतालले नै निशुल्क उपचार गर्ने घोषणा गरेको थियो ।

अस्पतालका चिकित्सकले उनको रोग पत्ता लगाइसकेका छन् । सोममायाको उपचार गर्ने प्रक्रियामा रहेको अस्पतालमा छाला रोग विशेषज्ञ डाक्टर कलम धितालले बताए ।
डा धितालका अनुसार सोममायालाई ‘कन्जेनाइटल मेलानोसाइटिस निभाइ’ भन्ने रोग लागेको हो ।

उनको रोग जन्मजात हो । छालामा इपिडर्मिस भन्ने तह हुन्छ । त्यो तहमा हुने मेलानोसाइटस कोषले छालालाई रंग दिने काम गर्छ । त्यो मेलानोसाइटस अनियन्त्रित तरिकाले वृद्धि हुँदा कन्जेनाइटल मेलानोसाइटिस निभाइ भन्ने रोग लाग्छ ।

सोममायाको शरीरमा पनि जन्मजात रुपमा मेलानोसाइटिस अत्याधिक वृद्धि हुँदा छालाको रंग कालो, रौं उम्रिएको र मासुका फोकाहरु देखिएको डा धितालको भनाइ छ ।सोममायाको उपचारका लागि प्लाष्टिक सर्जरी गर्नुपर्ने डा धितालले बताए ।

‘सोममायाको उपचारका लागि प्लाष्टिक सर्जरी गर्नुपर्ने हुन्छ, त्यसको लागि हामीले प्लाष्टिक सर्जरीको टिमसँग कुरा गरेको छु, प्लाष्टिक सर्जरीको डाक्टरले उपचार गर्न सकिन्छ भन्नुभएको छ,’ डा धितालले भने, ‘उनको एकपटकले ठिक हुँदैन, ५–७ पटक नै सर्जरी गर्नुपर्ने हुन्छ, त्यसैले इन्टनल डिस्कसनमै छौं ।’सोममायाको जस्तै समस्या भएका बालकालिकाहरु धेरै आउने गरेको डा धितालले बताए ।

– रिता लम्साल / खबरहव डट कम बाट