गाउँ गाउँमा गोरु जुधाएर मनाईयो माघे संक्रान्ति

3136 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

– धादिङ न्यूज समाचारदाता

धादिङ, – माघ १ अर्थात माघे संक्रान्ति बुधबार धादिङ लगायत देशभर विभिन्न कार्यक्रम गरी मनाईयो । तराई क्षेत्रमा थारु समुदायले र पहाडी क्षेत्रमा मगर समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ मनाउने गर्दछन । मगर र थारु मात्रै होइन नेपालको सबै भागमा यो पर्व स्नान, दान, एवं खानपिन र रमाइलो गरेर मनाउने गरिन्छ ।

यस्तै धादिङ,नुवाकोट र रसुवाका विभिन्न स्थानमा भने संक्रान्तिका अवसरमा गोरु जुधाई प्रतियोगिता सम्पन्न भएको छ । धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टे, वडा नम्बर १४ को धुंवाकोट, ज्वालामुखी गाउँपालिकाको मैदीकोट, त्रिपुरासुन्दरी गाउापालिकाको मुलावारी लगायतका स्थानमा गोरु जुधाएर माघे संक्रान्ति मनाईएको छ । भ्रमण बर्ष २०२० लाई प्रवद्र्धन गर्न स्थानीय तह र पर्यटन सम्वद्ध संस्थाहरुको सक्रियतामा जिल्लाका विभिन्न स्थानमा मेला आयोजक समिति मार्फत गोरु जुधाई प्रतियोगिता सम्पन्न गरिएका छन् ।


त्रिपुरासुन्दरी गाउँपालिका वडा न ३ माथिल्लो मुलाबारीमा माघे सक्रान्ती गोरु जुधाइ कार्यक्रमरुपमा सम्पन्न भएको छ । संस्कृति र परम्पराको जर्गेना गर्दै आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजना गरिएको कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिकाका विभिन्न स्थानका साथै गंगाजमुना, नेत्रावती डबजोङ र छिमेकी जिल्ला गोरखाको विभिन्न स्थानबाट सर्वसाधरणहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रममा पहिलो हुने गोरुलाई ८,७५०, दोश्रो हुने गोरुलाई ५००० र तेश्रो हुने गोरुलाई ३००० हजारका दरले गोरु धनीलाई नगद दिईएको थियो भने सहभागी मात्रै भएका गोरुलाई १ हजार नगद दिईएको थियो ।

त्यसै गरि प्रतियोगिताको सबै चरणमा भाग मात्रै लिएका गोरुलाई ५ सय रुपैयाँ दिईएको थियो । पुरस्कारको रकमको त्रिपुरासुन्दरी गाउँपालिका वडा न ३ ले उपलव्ध गराएको वडा अध्यक्ष लोकेन्द्र बहादुर थापाले जानकारी दिनु भयो ।

 

नीलकण्ठ नगरपालिकाको धुवाकोटमा संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धन केन्द्र धुवांकोट र भंगेरी युवा क्लवको संयुक्त आयोजनामा गोरु जुधाई तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । वागमती प्रदेशका सांसद डाक्टर रामकुमार अधिकारीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उप प्रमुख मनराज भण्डारी, वडा अध्यक्ष फन्द्रा तामाङ लगायतको आतिथ्य रहेको थियो । प्रतियोगितामा १६ हल गोरुका बीच प्रतिस्पर्धा भएको थियो । कार्यक्रममा प्रथम हुने गोरुलाई ७ हजार र द्धितिय हुने गोलाई ५ हजार र बराबरी हुने गोरु धनिलाई ६ हजार नगद गोरुका धनीलाई पुरस्कार स्वरुप प्रदान गरिएको थियो ।


त्यसै गरि पृथ्वीनारायण शाहको व्रतबन्ध स्थल मानिएको धादिङको मैदीकोटमा स्थानीय खड्कदेवि युवा क्लबले खड्गदेवी सांस्कृतिक महोत्सव आयोजना गरि ६ हल गोरु जुधाएको छ । मैदीकोटलाई पर्यटकीय दृष्टिकोणले विकास गर्ने लक्ष्य राखेर क्लबले विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ ।

माघेसंक्रान्ति गोरु जुधाई मेला समितिले आयोजना गरेको गोरु जुधाई प्रतियोगिता तिलक बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो । क वर्गका विजयी गोरु धनीलाई नगद पाँच हजार र ख वर्गका विजयी गोरुधनीलाई नगद ३ हजार प्रदान गरिएको थियो । त्यस्तै सहभागी गोरुधनीलाई एकएक हजार रुपैयाँ प्रदान गरिएको मुलपानीबाट नवीन कुमार थापाले जानाकारी दिनुभयो ।चमेरे गुफा संरक्षण समाजले खाल्टेको फ्याक्सेमा गोरु जुधाई प्रतियोगिता सम्पन्न गरेको छ । फ्याक्सेमा ७ हल गोरु जुधाईएको थियो ।

तत्कालीन बझाङ्गी राजा विक्रमबहादुर सिंहको छोरा जयपृथ्वीबहादुर सिंह तारुकास्थित मामाघर आउँदा विसं १८८७ मा गोरु जुधाएर मनोरञ्जन दिलाएको स्मरणमा नुवाकोटको तारुका र आसपासका क्षेत्रमा हरेक वर्ष मकर सङ्क्रान्ति पर्वको अवसरमा गोरु जुधाई मेलाको रुपमा सञ्चालन हुने गरेको छ । नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनी, विदुर नगरपालिका–१०को वेत्रावती, पञ्चकन्या गाउँपालिका–३ पिपलडाँडा, लिखु गाउँपालिका–३ कट्टीछाप, तादी गाउँपालिका–४ सातबिसे, शिवपुरी गाउँपालिका–५ शेराबगरको गैरीफाँट लगायतका स्थानमा गोरु जुधाईएको थियो ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ । यस दिन पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाने चलन समेत रहेको छ । तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ ।

सेल रोटीलगायत परिकार पनि पुस मसान्तमा बनाएर माघमा खाने प्रचलनमा देशका केही भागमा छ । शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थबाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिन्छ ।

माघ १ गतेबाटै उत्तरायण सुरु हुने भएकाले माघे संक्रान्तिबाट दिनभन्दा रात छोटा हुँदै जान्छन । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले माघे संक्रान्तिको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्ने गर्दछ । यी स्थानमा माघे संक्रान्तिका दिन भव्य मेलासमेत लाग्ने गर्छ ।

सूर्य दक्षिणबाट उत्तर लाग्दाको दिनलाई वैदिक दर्शनका विभिन्न शास्त्रमा पवित्र दिन मानिएको छ । उत्तरायण सुरु भएपछि शुभ काम, यज्ञ यागादि गर्न शुभ मानिएको छ । उत्तरायण सुरु हुने दिन गुरु पुरोहितबाट तिलक लगाउने शास्त्रीय मान्यता समेत रहेकाले ब्राम्हणबाट तिलक लगाएर गक्ष अनुसारको दान गरि संक्रान्ति मनाइन्छ ।

धादिङ जिल्लामा बसोबास गर्दै आएका मगर समुदायले लोप हुंदै गएको कौरा नाचको संरक्षण गर्न धादिङबेसीमा खुल्ला कौह्रा लोक नाच तथा नेपाल मगर संघको १० औं जिल्ला अबिधेशन गरेर आफ्नो महान चाड माघे संक्रान्ति अर्थात माघी मनाएका छन् ।