मिटर व्याज थेग्न नसकेपछि सामूहिक आत्महत्याको प्रयास

1994 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ – व्याजमा ऋण लिएर शेयर बजारमा लगानी गर्दै आएका काठमाण्डौंको चन्द्रागिरि नगरपालिका–४, थानकोटका ३७ वर्षीय विनय लामिछानेले लगानी ऋण तिर्नै नसक्ने अवस्था आएपछि बच्चासहित त्रिशूली नदीमा हाम फालेर आत्महत्याको प्रयास गरेका छन । विहिवार साँझ दुई छोरालाई समेत साथमै लिएर लामिछाने दम्पत्ति त्रिशूली नदीमा हेलिएकोमा श्रीमती जमुना रेग्मीको मृत्यु भएको छ भने दुई बालक हराईरहेका छन । लामिछानेलाई जिवितै उद्धार गरिएको छ ।

साहुको दबाब र चक्रवृत्ति ब्याज तिर्न नसकेपछि  विनय र २७ वर्षीया श्रीमती जमुना रेग्मीले दुई वर्षीय र ६ महिनाका छोरा लिएर बेनिघाटरोराङ गाउँपालिकामा पर्ने बाँदरे नजीकै त्रिशूली नदीमा बिहीबार साँझ हाम्फालेको प्रहरीले जनाएको छ ।
हाम्फालेको देखेपछि स्थानीयवासीले विनयलाई जीवितै उद्धार गरेका थिए ।  उहाँकी श्रीमतीको भने निधन भैसकेको थियो । छोराहरु भने अझैसम्म फेला परेका छैनन् । नदी धमिलो भएको र पानी परिरहेकाले खोजीमा समस्या आइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

उनीहरुले यो दुःखान्त बाटो रोज्नुको मुख्य कारण मिटर ब्याजमा लिएको ऋण नै भएको जमुना रेग्मीको फेसबुक स्टाटसले पनि बताउँछ। उनले पुस १९ गते (जनवरी ४) मा ७ बजेर ४९ मिनेटमा मिटर ब्याजका कारण सर्वसाधारण मारमा परेको र थानकोटमा आएका नयाँ डीएसपीको यसतर्फ ध्यान गए सर्वसाधरणको बिचल्ली हुनबाट जोगिन्थे कि भन्ने आशय को स्टाटस पोस्ट गरेकी छन्।

‘मिटर ब्याजमा पैसा लगाउने अनि ऋणीले भनेको समयमा तिर्न नसके ब्याज दोब्बर–तेब्बर बनाउने अनि ऋणीलाई मर्न बाध्य बनाउने गरेको आपराधिक गतिविधि यस चन्द्रागिरि नगरपालिकामा अत्याधिक बढेको छ भन्ने सुन्नमा आएको छ। अहिले नयाँ डीएसपी साप पनि आउनुभएको छ रे सोतर्फ उहाँको ध्यान जान्छ कि? यसो भएमा सोझासाझा जनताको बिचल्ली हुनबाट जोगिन्छ कि?’ जमुनाले फेसबुकमा लेखेकी छन्।

जमुनाका दाजु धादिङको गल्छी गाउँपालिका–३ का वडाध्यक्ष कपिल रेग्मीको परिवारलाई सानो छोराको पास्नी (भातखुवाइ) मा आउँदै गरेको खबर गरेर यो परिवार सिधै बेनिघाट पुगेको थियो । लामिछानेको कान्छो छोराको शुक्रवार पास्नीको तयारी गरिएको थियो । विनयको घरमा ऋणका कारण आफूहरुले आत्महत्यालाई नै अन्तिम विकल्पका रुपमा रोजेको ‘सुसाइड नोट’ भेटिएको प्रहरीले जनाएको छ ।

जमुनाको माइती आदमघाटमा भए पनि उनीहरु त्यहाँ झरेनन्। घरमा माइती जाने भनेर हिँडे पनि उनीहरुको उद्देश्य भने अर्कै थियो। सुसाइड नोटमा विनयले ऋण दिने व्यक्ति र लिएको रकम उल्लेख गरेका छन् भने उनीहरुले व्यापार गर्ने अनलाइन कम्पनीका कार्यकारी निर्देशकको नाम पनि उल्लेख गरेको प्रहरीले जनाएको छ। घटना अनुसन्धानमा रहेका कारण प्रहरीले कसैको पनि नाम सार्वजनिक भने गरेको छैन।

दुई विषयमा डिग्री गरेका विनय थानकोटकै मंगलोदय क्याम्पसमा पढाउँथे। जमुनाले पनि डिग्री गरेको पारिवारिक स्रोतले बताएको छ। त्यसका अलावा काठमाडौँकै तीनकुनेमा भीएफएक्स ट्रेडरमा सेयर लगानी गरेर उनीहरुले अनलाइन व्यापार पनि गर्दै आएका थिए। त्यसका लागि उनले विभिन्न व्यक्तिहरुसँग चर्को ब्याजमा दुई करोडसम्म ऋण लिएको सुसाइड नोटमा उल्लेख भएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी रवीन्द्र रेग्मीले बताए।

‘सुसाइड नोटका आधारमा हेर्दा व्यापार बिग्रँदै गएको र चर्को ब्याजमा ऋण लिएका साहुहरुले अत्याउन थालेपछि आत्महत्या गर्ने सोच लामिछाने परिवारमा आएको देखिन्छ,’ एसपी रेग्मीले भने। सुरुमा व्यापार राम्रो भएपछि चर्को ब्याजमा ऋण लिन थालेको प्रहरीको अनुमान छ।