धादिङमा ‘बुकबस’ घुम्ती पुस्तकालय सञ्चालनमा

1850 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङमा पहिलो पटक विभिन्न विद्यालयहरुमा बुक बस अर्थात घुम्ती पुस्तकालय सञ्चालनमा ल्याईएको छ ।

अमेरिकी दुताबासको सहयोगमा संचालित बुक बसले माघ १५ गते देखि फागुन ७ गते सम्म धादिङको गजुरी, आदमघाट र बैरेनीमा विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ । बुक बसले अन्तराष्ट्रिय संस्था पिस कोर संगको सहकार्यमा धादिङको आदर्श मावि गजुरी, वागेश्वरी मावि बैरेनी र सत्यवती मावि आदमघाटमा बिद्यार्थी र स्थानीयबासीका लागि बुक बसले कार्यक्रम सञ्चालन गर्न लागेको हो । बुक बस कार्यक्रमको अन्त्य तिर फागुन ५ र ६ गते बुक बसका प्रशिक्षक र धादिङका बिद्यार्थीहरुले गरेका कामहरुको प्रदर्शनी हुनेछ । प्रदर्शनीमा बिद्यार्थीले कोरेका चित्र देखि उनिहरुले रचना गरेको कथा,कविता, गित प्रस्तुत गर्ने छन ।

बुक बसले तीन साता सम्म धादिङका बिद्यालयहरुमा कला तथा भाषा विज्ञान र प्रविधिको विकाससँगै पठन संस्कृतिको बारेमा पठन कार्यक्रम आयोजना गर्ने जनाएको छ । अमेरिकी दुतावासको सहयोगमा शैक्षिक तथा सांस्कृतिक योजनाहरुको प्रवन्धन सेवा उपलव्ध गराउने संस्था सालोरी सेन्टर फर द आर्टस्द्धारा संचालित बुक बस अमेरिकन स्पेस कार्यक्रम अन्र्तगत संचालन भएको हो । बसमा भएको पुस्तकले पठन संस्कृतिको विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । बस भित्र अन्तरजातिय द्वन्द्व, शिक्षा, प्रविधि तथा नयाँकुराको जानकारी गराईने बुक बसकी निशा कार्कीले बताउनु भयो ।

बाहिरबाट झट्ट हेर्दा दमकल जस्तो देखिने तर नजिकबाट हेर्दा एकदमै नौलो सवारी साधनको रुपमा बस पुस्तकालय भित्र पुस्तकहरु सजाएर राखिएका छन् । मोबाईल लाईब्रेरी अर्थात बुक बस विशेष गरी सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरि ल्याइएको हो ।

सुविधा सम्पन्न पुस्तकालयको पहुँच नपुगेका विद्यार्थीलाई सिर्जनात्मक शैलीमा पढ्ने अवसर दिन बुक बस प्रभावकारी हुने वताईएको छ । बुक बसमा विद्यार्थीले बसभित्र राखिएका पुस्तकालयबाट आफूलाई मन परेको किताब झिकेर पढ्न पाउने छन् । बुक बसमा २ हजार जति पुस्तक रहेका छन् । अधिकांश पुस्तक विद्यालयमा अध्ययन गर्ने बालबालिका केन्द्रित छन् । कतिपय दस जोड दुई कक्षासम्मलाई उपयोगी हुने पुस्तक पनि राखिएको छ ।धेरैजसो अङ्ग्रेजी पुस्तकहरू छन् । यसका साथै कथा, कविता तथा उपन्यासका नेपाली पुस्तक पनि राखिएका छन् ।