अब धोई पखाली गरेर मात्रै मोटर काठमाडौं प्रवेश गराईने

1361 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ– सडक मार्फत राजधानीमा भित्रिने फोहोर नियन्त्रण गर्न अब देशका विभिन्न जिल्लाबाट राजधानी प्रवेश गर्ने सवारी साधनलाई धादिङमा धोई पखाली गरेर मात्रै उपत्यका प्रवेश गराईने भएको छ ।

सरकारले काठमाडौँ भित्रने सवारीसाधनले धुलो र हिलो भित्र्याएको भन्दै सवारीसाधन धुने ठाउँ (वासिङ सेन्टर) को निर्माणको तयारी गरेको छ । वासिङ सेन्टर स्थापना गरेर सवारी साधन धोएपछि उपत्यकामा सवारीसाधनले भित्र्याउने फोहर कम हुने यातायात व्यवस्था विभागले जनाएको छ ।

उपत्यका भित्रिने निजी र सार्वजनिक सबै सवारीसाधन वासिङ सेन्टरमा धोएर मात्रै उपत्यका छिर्ने व्यवस्था मिलाइने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो ।

हमालका अनुसार विभागले अहिले धादिङको विभिन्न स्थानमा जग्गा खोजी गरिरहेको छ । उपयुक्त जग्गा भेटिनासाथ केन्द्र निर्माण शुरु हुने उहाँको भनाइ छ । पटक पटक धादिङ आएर उपयुक्त स्थानको खोजी भईरहेको उहाँले जानकारी दिनुभयो ।

अहिले झण्डै धादिङको राजमार्ग क्षेत्रको पाँच–छ ठाउँमा जग्गा हेरिरहेकामा अब छिट्टै उपयुक्त स्थान छनोट हुने बताइएको छ । यसले गर्दा सवारीसाधनका कारण हुने धुलो र हिलो कम हुने विश्वास गरिएको छ । उपत्यका बाहिरदेखि आउने सवारीसाधन मात्रै नभएर उपत्यकाभित्रै गुड्ने सवारीसाधनले समेत उपत्यकाका सडक फोहर बनाइरहेको महानिर्देशक हमालले बताउनुभयो ।