धादिङमा परीक्षा केन्द्र टाढा भएपछि विद्यार्थीले पढाइ छाडे

1066 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

पढ्न पाउनु हरेक बालवालिकाको नैसर्गिक अधिकार हो । संविधानले प्रदत्त गरेको यो अधिकार कार्यान्वयन गर्ने जिम्मेवारी पाएको स्थानीय तह वालमैत्री नहुंदा कक्षा ८ को परीक्षा दिनबाट ग्रामीण भेगका वालवालिका बञ्चित भएका छन् । परीक्षा केन्द्र धेरै टाढा राखेपछि दक्षिणी धादिङको बाँसखर्क आधारभुत विद्यालयबाटका पाँच विद्यार्थीले पढाइ छाडेका छन् ।

कक्षा ८ को पालिकास्तरीय परीक्षा हुने भएकोले बेनिघाट रोराङ गाउँपालिकाको शिक्षा शाखाले परीक्षा केन्द्र निर्धारण गर्दा ६ घण्टा भन्दा बढी हिड्नु पर्ने गरि परीक्षा केन्द्र राखेपछि उनिहरूले परीक्ष दिनै नसक्ने भन्दै पढाइ छाडेका हुन् ।

पढाइ नै छाड्नेहरूमा तिलक तामाङ, सिर्जना तामाङ, सुनदिप तामाङ, रिमला तामाङ र मनोज तामाङ रहेको विद्यालयका शिक्षक जीवन तामाङले बताउनुभयो । उनिहरूले कक्षा ८ को फारम नै भर्न मानेनन् । महाभारतमा रहेको बाँसखर्क आधारभूत विद्यालयको परीक्षाकेन्द्र पृथ्वी राजमार्गमा रहेको बागेश्वरी माध्यमिक विद्यालय मलेखुमा राखिएको छ । बेनिघाटरोराङ गाउँपालिकाको यो प्रतिनिधिमूलक घटनामात्र हो । गाउँपालिकाले पृथ्वीराजमार्गको छेउमा मात्र तीन ओटा परीक्षा कन्द्र तोकेर कक्षा ८ को परीक्षा सञ्चालन गर्ने निर्णयसँगै विवाद उत्पन्न भएको छ ।

स्थानीय सरकारले आधारभूत विद्यालयको व्यवस्थापन गर्नसक्ने सङ्घीय व्यवस्थापछि विद्यार्थीहरूलाई धेरै टाढा र अपायक पर्ने स्थानहरूमा परीक्षा केन्द्र तोकेले समस्या भएको अभिभावक आइते रुम्बाले बताउनुभयो । बेनिघाट रोराङ गाउँपालिकामा कक्षा ८ सञ्चालन भएका १७ विद्यालयमध्ये पृथ्वी राजमार्गको क्षेत्रमा रहेको तीन ओटा विद्यालयमा मात्र परीक्षा केन्द्र तोकेको हो । बेनिघाट रोराङमा ५ सय ६३ विद्यार्थी कक्षा ८ को परिक्षामा सहभागि हुनेछन् ।

सबैभन्दा गरिव चेपाङ समूदायको बसोबास रहेको छ र अत्यन्तै गरिव समूदायहरूको बस्ने भएकोले टाढा भएको परीक्षकेन्द्रले गरिवहरूलाई समस्या उत्पन्न भएको हो ।

महाभारत क्षेत्रबाट राजमार्गसम्म आउन कम्तिमा ६ घण्टाभन्दा बढी समय लाग्ने र गरिब भएका कारण सवारी साधन प्रयोग गर्न समेत नसक्ने अवस्थाका समूदाय यस किसिमको व्यवस्थाबाट समस्यामा परेको बाल अधिकारका लागि क्रियाशिल गोकर्ण रुपाखेतीले बताउनुभयो । अबैधानिक र अव्यवहारिक परीक्ष केन्द्र राखेर बाल अधिकारको ठाडो उल्लङ्घन भएकोले तत्काल सच्याउन रुपाखेतीले माग गर्नुभएको छ ।

शिक्षकहरू गाउँसम्म परीक्षा लिन जान नसक्ने भएकोले परीक्षा व्यवस्थित गर्नका लागि परीक्षा केन्द्र राजमार्ग क्षेत्रका तीन विद्यालयमात्र तोकिएको बेनिघाट रोराङ शिक्षा शाखा अधिकृत बोधराज  पाठकले बताउनुभयो । गाउँपालिका प्रमुख हरी डल्लाकोटीले एसईईको लागि अनुभव गराउनका लागि र दक्ष जनशक्ति बनाउनका लागि यसरी परीक्षा केन्द्र निर्धारण गरेर परीक्षा सञ्चालन गर्न लागेको बताउनुभयो ।

यसैगरि थाक्रे गाउँपालिकाले कक्षा ८ का लागि सबैभन्दा पहिला परीक्षा केन्द्र निर्धारण गरि टाढा टाढा राखेको छ । थाक्रे गाउँपालिकाको ४ घण्टाभन्दा बढीसमय लाग्ने गरि परीक्षा राखेर बालअधिकारको उल्लङ्घन गरेको रुपाखेतीले बताउनुभयो । परीक्षा मर्यादित बनाउन शिक्षकहरूलाई विद्यालयबाट अर्को विद्यालयमा पठाएर परीक्षा लिने व्यवस्था गर्न सकिने अवस्था भएपनि गाउँपालिकाले शिक्षा समितिमा छलफल नै नगरी यस्तो निर्णय गरेको रुपाखेकीको भनाइ छ ।

बेनिघाट रोराङकै जस्तो अवस्थामा थाक्रे गाउँपलिकाले १९ विद्यालयका ५ सय ६५ विद्यार्थीहरूका लागि नौ विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ ।

यस विषयमा गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले विद्यार्थीलाई अप्ठेरो पार्नका लागि यस्तो व्यवस्था गरेको नभइ शिक्षाको गुणत्मक विकास गर्न कक्षा आठको होम सेन्टर हटाइएको बताउनुभयो । गाउँपालिका निमित्ति प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले आफूव्यस्त भएको भन्दै सूचना दिन इन्कार गर्नुभयो ।

गल्छी गाउँपालिका, गजुरी गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपलिकाले पनि विद्यार्थीहरूलाई समस्या पर्ने गरि कक्षा आठ को परीक्षकेन्द्र निर्धारण गरेको छ । गल्छी गाउँपालिकाको १५ विद्यालयका पाँच ओटा परीक्षकेन्द्र, गजुरी गाउँपलिकाको १७ विद्यलयको १२ परीक्षा केन्द्र, धुनीबेसी नगरपालिकाका २६ विद्यालयका १५ परीक्ष केन्द्रमा त्रिपुरासुन्दरी गाउँपलिकाको १९ विद्यालयको आठ परिक्षा केन्द्र कायम गरिएको छ ।

सिद्धलेक गाउँपालिकाले भने सम्बन्धित विद्यालयलाई नै परीक्षा केन्द्र तोकिएको छ । गुणस्तर र मर्यादित बनाउने नबनाउने शिक्षकहरूले नै भएकोले उनिहरूले चाहेमा आफ्नै विद्यालयमा परीक्षा केन्द्र भएपनि केही फरक नपर्ने शिक्षा अधिकृत बलराम अधिकारीले बताउनुभयो ।

गत वर्ष परीक्षा केन्द्रबाट होम सेन्टर हटाएपछि विद्यार्थीहरूलाई धेरै दुख भोगेको अनुभव सुनाउँदै धुनीबेसी नगरपालिका प्रमुख बालकृष्ण आचायले अप्ठेरो परेकोले यस वर्ष होम सेन्टर हटाइएको बताउनुभयो । कक्षा ८ को परीक्षा केही पालिकामा यहि ०७६ चैत १ गतेबाट र केही पालिकामा २ गतेबाट सुरु हुने सूचना गाउँपालिकाहरूले जारी गरिसकेका छन् ।

  • सीताराम अधिकारी/ इन्सेक अनलाइनबाट