‘स्वास्थ्य सामग्री प्रदेशभर पुग्ने वातावारण मिलाऔं’–बानियाँ

762 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

१६ चैत, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले मूख्यमन्त्री डोरमणी पौडेलसंग कोरोनाविरुद्धको अभियानलाई प्रभावकारी बनाउने बारेमा कुराकानी गरेका छन् ।

शनिबार राति भएको टेलिफोन वार्तामा नेता बानियाँले मूख्यमन्त्री पौडेललाई प्रदेशभर स्वास्थ्य सामग्री पुग्ने वातावरण बनाउने बारे कुराकानी गरेका हुन् । संघीय सरकारले चीनबाट ल्याउन लागेको स्वास्थ्य सामग्री र प्रदेश सरकारसंग रहेको सामग्रीसमेत प्रदेशभरका सबै जिल्लाका स्वास्थ्य इकाईमा पुर्याउन उनले सुझाव दिए । उनले आवश्यक पर्दा हेलिकप्टरको प्रयोग गर्न समेत सुझाव दिए । मानतामाथिको प्रहारको रुपमा देखिएको कोरोना संक्रमणलाई पराजित गर्न दलीय स्वार्थभन्दा माथि उठेर प्रदेश सरकारलाई सहयोग गर्न नेपाली कांग्रेस तत्पर रहेको बताउँदै नेता बानियाँले प्रदेश सरकारको सक्रियाताको खाँचो औल्याए ।

सबै तहका व्यक्तिमा कोरोना संक्रमणको जोखिम रहेको भन्दै उनले उपचारमा संलग्न स्वास्थ्यकर्मी, सरकारका विभिन्न निकाय, नागरिक समाज, सर्वसाधारण सबैलाई सावधानीपूवर्क अभियानमा जुट्नुपर्ने उनको भनाई थियो । प्रदेशका नाकामा समेत जाँच व्यवस्थालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिंदै बानियाँले हेटौंडा–१० स्थित स्वास्थ्य निर्देशनालय र भरतपुरमा कोरोना जाँच गर्ने कार्यका लागि प्रक्रिया अघि बढाउन ध्यानाकर्षण गराए । उनले लकडाउनको समयमा खाद्य संकटको जोखिम रोक्न समेत प्रदेश सरकार अघि बढ्नुपर्ने बताउँदै दैनिक उपभोग्य सामग्री खरिदलाई व्यवस्थित गर्न प्रशासनसंगको समन्वयमा काम गर्नुपर्नेमा जोड दिए । विहान र साँझपख दैनिक उपभोग्य सामान खरिदका लागि सर्वसाधारणको भिड बढ्दा संक्रमणको जोखिम हुने भएकाले प्रत्येक क्षेत्रका टोल छिमेकका पसललाई प्रशासनको समन्वयमा खुल्ला गर्ने र दुरी कायम गरी खरिदको व्यवस्था गर्न उनको सुझाव थियो ।

कुराकानीमा मूख्यमन्त्री पौडेलले कोरोनाविरुद्धको अभियानमा प्रदेश सरकारले काम गरिरहेको बताउँदै सबैसंगको हातेमालोमा अघि बढ्न तत्पर रहेको बताएको बानियाँले जानकारी दिए । मूख्यमन्त्री पौडेलले स्वास्थ्यकर्मीहरुलाई उपचारमा आवश्यक स्वास्थ्य सामग्री उपलव्ध गराउन आफु लागि परेको र थप गम्भिर भएर लाग्ने बताए । उनले नेता बानियाँले कोरोनाविरुद्धको अभियान र लकडाउनबारे दिएका सुझावलाई सकारात्मक रुपमा लिएको भन्दै मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।