धादिङमा अब ३५ जना क्वारेन्टाइनमा

1173 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ न्यूज समाचारदाता

धादिङ । धादिङमा क्वारेन्टाइनमा बसेकाहरु दुई साताको समयावधि पूरा गरेर घर फर्किएका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि भारतबाट घर फर्किएकाहरुलाई धादिङको धादिङबेँसी, बैरेनी, नेत्रावती र बेनीघाटमा क्वारेन्टाइनमा राखिएको थियो । उनीहरु कसैमा पनि कोरोना भाइरसको सङ्क्रमण नदेखिएपछि आआफ्नो घर पठाइएको हो ।

स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा. भुवन पौडेलका अनुसार जिल्लामा विभिन्न स्थानका क्वारेन्टाइनमा बसेकाहरूमा नियमित स्वास्थ्य परीक्षण गर्दा १४ दिनसम्म कोरोनाको कुनै सङ्क्रमण नदेखिएपछि उनीहरुलाई आ–आफ्नो घर पठाइएको हो ।

गल्छी गाउँपालिकामा क्वारेन्टाइनमा बसेका २२ जनामध्ये २० जना, नीलकण्ठ नगरपालिकामा १९ जना सबै र बेनीघाट रोराङमा ३ जना घर फर्किएका छन् । दुई सातासम्म उनीहरुलाई क्वारेन्टाइनमा राख्दा कुनै समस्या नदेखिएपछि घर पठाइएको पौडेलले बताउनुभयो । चौध दिनपछि घर पठाइएकाहरूलाई आफ्नो घर गएर पनि सुरक्षित हुन आग्रह गर्ने गरिएको नीलकण्ठ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख विष्णु रिजाल बताउनहुन्छ ।

जिल्लाको गजुरी गाउँपालिकामा रहेको क्वारेन्टाइनमा अहिले २३ जना स्थानीय चेपाङहरु रहेका छन् । वाग्लुङ जिल्लामा मजदुरीका लागि गएका उनीहरु लकडाउन पछि हिँडेरै घर फर्किएका थिए । गाउँ आएका सबै जनालाई गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा राखिएको छ ।

वाग्लुङ जिल्लामा संक्रमित बिरामी भेटिएपछि त्यहाँबाट आएकाहरुलाई सीधै घर जान नदिई क्वारेन्टाइनमा राखिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख डा। रामहरि रेग्मीले बताउनुभयो ।

जिल्लाको १३ स्थानीय तहमध्ये अब गजुरीमा २३, गल्छीमा २ र नेत्रावती डवजङमा १० जनामात्रै क्वारेन्टाइनमा रहेका छन् ।

जिल्ला अस्पताल धादिङमा भर्ना भएका एक युवकको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । पछिल्लो तथ्यांकअनुसार धादिङ अस्पतालले लकडाउन सुरु भएपछि २६८ जनाको ज्वरो परीक्षण गरेको छ । यसैगरी, जिल्लाका अन्य स्थानीय तहमा रहेका स्वास्थ्य संस्था, निजी क्लिनिकहरुमा पनि ज्वरोको परीक्षण गराउनेहरुको संख्या अरु बेलामा भन्दा बढी नै रहेको बताइएको छ ।