आज नयाँ वर्ष २०७७ सालको पहिलो दिन

2441 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । आज विक्रम संवत् २०७७ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । २०७६ साललाई बिदाई गर्दै नेपालीहरुले नयाँ वर्ष २०७७ साललाई स्वागत गरेका छन् ।

तर यस वर्ष भने विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण र देशमा लागू गरिएको लकडाउनको कारण नेपालीहरुले उल्लासमय ढंगले नयाँ वर्ष मनाउन पाएनन् ।

सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन आज वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो ।

आज हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता/असफलता मूल्याङ्कन गरी असफलता दोहरिन नदिने र सफलता पाउन नयाँ योजनाको सङ्कल्प गर्दछन् ।

यस अवसरमा बिहानै स्नान गर्ने, घर–आँगन सफा गर्ने, देवदेवीको दर्शन गर्न मन्दिर जाने, मीठोमीठो खाने, साथीसङ्गति तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना साटासाट गर्ने गरिन्छ ।

इतिहासकार प्राडा दीनेशराज पन्त मल्लकालदेखि नेपालमा मौलिक संवतका रुपमा विसं चलेको बताउनुहुन्छ । “नेपालमा मात्र मौलिक रुपमा यो संवत् चल्छ, भारतमा सरकारी संवत शक संवत भए पनि व्यवहारमा इस्वी संवत चलेको छ”–उहाँले भन्नुभयो ।

विसं १३५ देखि शक संवत, विसं ६३३ देखि मानदेव संवत, विसं ९३६ देखि नेपाल संवत चलेको जानकारीसमेत उहाँले दिनुभयो । यी संवतमध्ये अहिले मानदेव संवतको चलन हराइसकेको छ । विक्रमको १२ औँ शताब्दीमा गुजरातबाट आएका विद्वानले किताब सार्दा पहिलोपटक विसंको प्रयोग गरेको लिखित दस्तावेज फेला परेको पनि इतिहासकार पन्तले बताउनुभयो ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम विसं शास्त्रीय संवत भएको बताउनुहुन्छ । “सौरमान र चन्द्रमान दुवैलाई समन्वय गरेर बनाइएको संवत नै विसं हो, विक्रमको अर्थ पराक्रम र आदित्यको अर्थ सूर्य हुन्छ, सूर्यका उपासकले चलाएकाले नै यसलाई विक्रम संवत भनिएको हो”–उहाँले भन्नुभयो ।

राजा विक्रमादित्यले चलाएको संवत् भएकाले यो संवतलाई विक्रम संवत् भनिएको तर्क पनि एकथरिले गर्ने गरेका छन् ।

सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने वैशाख सङ्क्रान्तिका दिन मनाइने नयाँ वर्षमा स्नान, दान, गरेमा पाप पखाली पूण्य कमाइने धार्मिक विश्वास रहेको छ ।

नयाँ वर्षकै अवसरमा भक्तपुरमा एकसाता लामो बिस्केट जात्रा मनाइन्छ । यो जात्रा वैशाख १ गते नै उत्कर्षमा पुग्छ । तर यस वर्षको बिस्केट जात्रा पनि कोरोना भाइरस र लकडाउनका कारणा स्थगित गरिएको छ ।

  • खुल्ला नेपालबाट