नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ

825 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं, १ बैशाख । रौतहटका एक १९ वर्षीय युवामा कोरोना भाइरस संक्रमण देखिएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ ।जसमध्ये एक जना निको भइसकेका छन् भने बाँकी १३ जनाको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले सोमबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा दिनु भएको जानकारी अनुसार बैशाख १ गते सोमबारमात्रै दुई जनामा संक्रमणको पुष्टि भएको छ ।

जिल्लामा क्वारेन्टाइनमा रहेका एक जना १९ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसै गरि सोमबारनै कैलालीको लम्कीचुहा नगरपालिका–१ मा ६५ वर्षीया एक महिलामा पनि कोरोना भाइरस पोजेटिभ भेटिएको थियो ।

 हालसम्म नेपालभरका विभिन्न प्रयोगशालामा पिसिआर प्रविधिबाट गरिएका परीक्षण संख्या ५ हजार ६ सय ९१ पुगेका छ। ५२ जिल्लामा सुरु भएको आरडिटी प्रविधिबाट गरिएको परीक्षण हालसम्म ५ हजार २ सय ९१ पुगेका छन्। दुवै विधिबाट देशैभर गरी १० हजार ९ सय ५२ जनाको परीक्षण सम्पन्न भएको छ।