धादिङमा १८३ जनाको आरडिटी परीक्षण,सबैको रिपोर्ट ‘नेगेटिभ’

1374 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ । कोरोना भाइरसको सङ्क्रमणको अवस्था जान्नका लागि तीन दिनअघिदेखि सुरु गरिएको र्‍यापिड डाइनिस्टिक टेस्ट (आरडिटी) धादिङमा १८३ जनाको परीक्षण गरिएको छ ।

धादिङमा तीन दिनमा १८३ जनामा कोरोना भाइरस कोभिड–१९ भए/नभएको र्‍यापिड डाइनिस्टिक टेस्ट (आरडिटी) द्रूत परीक्षण गरिएको हो ।

शनिबार, आइतबार र सोमबार गरेर १८३ जनाको आरडिटी टेस्ट गरिएको स्वास्थ्य कार्यालय धादिङका महामारी फोकल पर्सन दीपक अछामीले जानकारी दिनुभयो । सोमबार गल्छी गाउँपालिकाले १४, बेनिघाट रोराङ गाउँपालिकाले १२, गंगाजमुना गाउँपालिकाले ११ जना र त्रिपुरासुन्दरी गाउँपालिकाले ११ गरी ४७ जनामा आरडीटी विधिमार्फत कोरोनाको परीक्षण गरिएको थियो ।

सोमबार परीक्षण गरिएको ४७ जना सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको अछामीले बताउनुभयो । आज (मंगलबार) जिल्लाको ज्वालामुखी र गजुरी गाउँपालिकामा कोरोना परीक्षण गर्ने कार्यक्रम रहेको छ ।

संघीय सरकारले बागमती प्रदेश सरकारलाई उपलब्ध गराएको र्‍यापिड टेस्ट गर्ने ३०० थान कीट धादिङमा प्राप्त हुनासाथ जिल्लामा र्‍यापिड डाइनिस्टिक टेस्ट (आरडिटी) सुरु गरिएको हो । आरडीटी विधिबाट परीक्षण गर्दा १५ मिनेटमा नतिजा आउने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

चैत महिनामा विदेशबाट आएका सबैको कोभिड–१९ को सङ्क्रमण अवस्था जान्नका लागि परीक्षण गर्ने सरकारी नीतिअनुसार जिल्लामा लकडाउनअघि र पछि आएका सबैजनाको परीक्षण गर्न लागिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

गल्छी गाउँपालिकाभित्र विदेशबाट आएका तथा जोखिम क्षेत्राभित्र परेकाहरुमध्ये उच्च जोखिममा रहेका ३६ जना व्यक्तिलाई कोरोना भाइरसको (आरडिटी) परीक्षण पूरा भएको छ । परीक्षण भएका सबै व्यक्तिहरुमा नेगेटिभ देखिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।