थांक्रेमा रेडियो मार्फत एसइई पाठशाला

1490 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, २ बैशाख – धादिङको थाक्रे गाउँपालिकाले एसईई परीक्षाको तयारीमा बसेका विद्यार्थीहरुका लागि लक्षित गरि रेडियो मार्फत एसईई पाठशाला सञ्चालन गरेको छ ।

थांक्रे गाउँपालिकाको धार्केमा रहेको कृषि रेडियोले उत्पादन गर्ने पाठशाला कृषि रेडियो, रेडियो राजमार्ग र रेडियो मान्खुवाट एकसाथ प्रसारण हुनेछ । हरेक दिन बिहान सवा ९ बजेदेखि १० बजेसम्म, दिउँसो सवा १२ देखि १ बजेसम्म, दिउँसो सवा ३ देखि ४ बजेसम्म र बेलुका सवा ५ बजेदेखि ६ बजेसम्म पाठशाला प्रशारण हुने कृषि रेडियोका स्टेशन म्यानेजर सरोज पौडेलले जानकारी दिनुभयो ।

एसइईको तयारीमा रहेका विद्यार्थीले आआफ्ना घरबाटै बिषय बिज्ञ शिक्षकले पढाएको विषयवस्तुका बारेमा ज्ञान लिन सकुन भनेर पाठशाला कार्यक्रम शुरु गरिएको थांक्रे गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताउनुभयो । कोरोना महामारीका समयमा रेडियोको माध्यमबाट विद्यार्थीलाई घरमै बसेर अध्ययनमा सघाउ पुर्याउन सञ्चालन गरिएको पाठशाला कार्यक्रम प्रभावकारी हुने अभिभावकहरुले वताएका छन् ।

कोरोनाको कारण एसइई सुरु हुने दिनको अघिल्लो साँझ सरकारले अर्को सूचना जारी नहुँदासम्मको लागि परीक्षा स्थगन गरेको थियो ।