मौवाखोलामा अलपत्र परेकाहरूलाई ट्रकमा राखेर घर पठाइयो

1740 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ (मौवाखोला). चितवन र धादिङ जिल्लाको सिमाना पर्ने पृथ्वी राजमार्गको मौवाखोलामा अलपत्र परेका सयौं पैदलयात्रीलाई गन्तव्यमा पठाइएको छ।
चितवन जिल्ला प्रशासन कार्यालयले आफ्नो जिल्लाभित्र बाहिरी जिल्लाबाट आएका कसैलाई पनि प्रवेश गर्न नदिने भन्दै पैदलयात्रीलाई अघि बढ्न रोकेपछि बिहीबार बिहानैदेखि पृथ्वी राजमार्ग भएर गन्तव्यतिर हिँडेकाहरु मौवाखोलामा अलपत्र परेका थिए।


राजधानी र अन्य जिल्लाबाट समेत पैदलयात्रा गरेर मौवाखोला पुगेकाहरुलाई चितवन प्रशासनले अघि बढ्न अवरोध गरेको थियो। मौवाखोलाका स्थानीयले उक्त कार्यको विरोध जनाउँदै केही समय राजमार्ग अवरुद्धसमेत पारेका थिए।

स्थानीयले अत्यावश्यक सेवाका सवारी साधन रोकेर अलपत्र परेकाहरुको उचित व्यवस्थापन हुनुपर्ने दबाब दिएका थिए। विभिन्न ठाउँबाट हिंडेर आएकाहरुलाई चितवन प्रवेश गर्न नदिएपछि धादिङको मौवाखोलाका बासिन्दाले आंफूहरुमा संक्रमणको डर बढेको भन्दै चितवन प्रशासनको कदमको विरोध गर्नुपरेको बताएका थिए।


सडकमा ३ सयभन्दा धेरै पैदलयात्री अलपत्र परेपछि धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र चितवनका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई घटनास्थल पुगेर निकासका छलफल गरे पनि चितवन प्रशासनको अडानले साँझसम्म कुनै निकास आउन सकेको थिएन।

चितवनको इच्छाकामना गाउँपालिका अध्यक्ष गीतादेवी गुरुङ र धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटीका साथमा अन्य स्थानीय जनप्रतिनिधि, नागरिक समाजका प्रतिनिधिहरु बिहीबार दिनभर मौवाखोला उपस्थित भएर निकासका लागि पहल गरेका थिए।

काठमाडौंदेखि हिँडेर आएका पैदलयात्रीलाई बीच बाटोमा अलपत्र पार्न हुंदैन भनेर प्रदेशदेखि संघीय सरकारका विभिन्न निकायसँग निकासका लागि पहल गरिदिन अनुरोध गरिएको बेनिघाट रोराङका अध्यक्ष डल्लाकोटीले बताउनुभयो।


दिनभरको प्रयसा पछि चितवन प्रशासनले सहमति जनाएपछि धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष डल्लाकोटी र चितवनको इच्छाकामना गाँउपालिकाकी अध्यक्ष गुरुङको संयुक्त पहलमा उनीहरुलाई विभिन्न ट्रकमा राखेर गन्तव्यमा पठाउन सुरु गरिएको थियो। बिहीवार र शुक्रवार गरेर मौवाखोलामा रोकिएका करिब ४ सय यात्रुलाई गन्तव्यमा पठाइएको इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

‘तरकारी र अन्य सामान बोक्ने ट्रकलगायत सवारीसाधनलाई रोकेर सम्झाउँदै मानिसहरु पठाएका छौं, मोटरमा चढेपछि बाटोमा खानका लागि भनेर पानी र खाजा पनि दिएका छौं,’ अध्यक्ष गुरुङले बताउनुभयो ।