धादिङका नौ सहित ५० ग्यास उद्योगको अनुमति खारेज

1412 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ–नेपाल आयल निगमले ग्यास उद्योग सञ्चालन गर्न अनुमति लिएर बसेका तर सञ्चालन हुन नसकेका ५० उद्योगको अनुमति खारेज गरेको छ । यसरी खारेज भएका उद्योगहरुमा धादिङ जिल्लामा सञ्चालन अनुमति लिएका नौ वटा उद्योग छन् ।


अनुमति लिने तर उद्योग निर्माण नगर्ने अनि अनुमतिपत्र खरिदबिक्री गर्ने प्रवृत्ति अन्त्य गर्न निगमले ती उद्योगको अनुमति खारेज गरेको जनाएको छ । उद्योग विभागमा दर्ताका लागि निवेदन दिने र उद्योग विभागबाट निगमसँग राय प्रतिक्रिया माग गरेपश्चात सम्पर्कमा नआउने प्रवृत्ति बढेसँगै अनुमति खारेज गरिएका पनि े निगमले जनाएको छ ।

यसबीचमा कुल ५३ उद्योगले एलपी ग्यास बिक्री गर्न अनुमति मागेका थिए । निगमले अनुमति पाएको उद्योगलाई तत्काल सञ्चालनमा आउन यसअघि ३ पटकसम्म सूचना जारी गरेको थियो । पटकपटक सूचित गराउँदा पनि ती उद्योगहरु सम्पर्कमा नआएको निगमको भनाई छ ।

निगमबाट उद्योग सञ्चालनका लागि सैद्धान्तिक सहमति लिएका तर सञ्चालनमा नआएका केही उद्योग यसअघि नै खारेजीमा परिसकेका छन् । खारेजी गरिएकामध्ये केही उद्योगका शाखा पनि रहेका छन् । खारेजीमा परेका उद्योगमा सुदूरपश्चिम एलपी ग्यास उद्योग, पूर्वेली ग्यास, बर्दिवास इन्भेष्टमेन्ट मल्टिप्रर्पोज, एचएच कम्पनी, वर्षा ग्यास, जेपी ग्यास, एसियन ग्यास, एक्सप्रेस ग्यास, शिवशक्ति ग्यास, नीलकण्ठ ग्यासलगायतका रहेका छन् ।

धादिङ जिल्लामा उद्योग सञ्चालनको अनुमति पाएर पनि उद्योग स्थापना नगर्ने उद्योगहरुमा ग्रिन ग्यास ,गौरी शंकर ग्यास,हिमालयन पेट्रो केमिकल्स,कोशि ग्यास ,लुम्विनी, नारायणी, नोवेल र राजधानी ग्यास उद्योग रहेका छन । ग्रिन र पुजा ग्यास बाहेक अरु शाखा उद्योगका रुपमा सञ्चालनका लागि अनुमति लिएका थिए । ग्रिनले   गल्छी गाउँपालिका वडा नम्बर ४ मास्टार र पुजा ग्यास उद्योगले थांक्रे गाउँपालिकाको साविकको केवलपुर–६ मा मुख्य उद्योग स्थापनाको अनुमति पाएको थियो ।

नयाँ ३ उद्योगलाई पीडीओ अनुमति

अनुमति लिई सञ्चालनमा आएका ३ उद्योगलाई निगमले प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) अनुमति दिएको छ । कैलालीको अत्तरियामा रहेको सैपाल ग्यास, नवलपरासीको सगरमाथा ग्यास (शाखा) र धादिङको सीता ग्यास उद्योगलाई पीडीओ प्राप्तिका लागि अनुमति दिइएको निगमले जनाएको छ । पछिल्लो पटक अनुमति पाएको सिता ग्याँस उद्योग धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ९ मा रहेको छ । सीता समेत गरि जिल्लामा ग्याँस उद्योगको सख्या अब १५ पुगेको छ । यी ३ उद्योगले निर्माण सम्पन्न गरी कारोबार स्वीकृतिका लागि निगमसँग  अनुरोध गरेका छन् । नयाँ ३ उद्योगले अनुमति पाएसँगै नेपालमा एलपी ग्यासको कारोबार गर्ने उद्योगको संख्या ६२ पुगेको छ ।