मुलपानीमा खयर सखाप पार्नेलाई पक्राउ पुर्जी जारी

1447 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ न्यूज समाचारदाता

धादिङ, ८ बैशाख धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नम्बर ३ को माता जलेश्वरी सामुदायिक वनभित्र भएको खयर कटानका दोषीहरु माथि पक्राउ पुर्जी जारी गरिएको छ ।

लकडाउनको मौका छोपेर बुटवलबाट आएका ठेकेदारहरु मार्फत सामुदायिक वनभित्रका खयरका रुख काटिएको बिषयमा अनुसन्धान शुरु गरी दोषीहरुलाई पक्राउ गर्न पुर्जी जारी गरिएको धादिङका डिभिजन वन कार्यालय प्रमुख जीवनाथ पौडेलले बताउनुभयो ।

स्थानीय शिव गुवाजुको निजी जग्गाभित्रको रुख कटानका लागि स्वीकृति पाएका ठेकेदारले लकडाउनको मौका छोपेर सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीको मिलेमतोमा थप पाँच दर्जन खयर अबैध ढंगबाट चोरी तस्करी गरि काटिएको स्थानीयले बताएका छन् ।

स्थानीयको उजुरीपछि डिभिजन वन कार्यालय धादिङले अहिले २७ वटा ठूला रुख तथा यसका एघार सय टुक्रा काठ कसैले पनि उपयोग गर्न नसक्ने र स्थानीयकै रेखदेखमा रहने गरी सिलबन्दी गरेर राखेको छ । घटनामा संलग्नहरुमाथि छानबिन भइरहेको कार्यालयले जानकारी दिएको छ । खयरका काठहरु खरिद गर्ने ठेकेदार मीनलाल सारु र गुप्तलाल सारु भने फरार रहेकाले अहिले उनिहरुको खोजी कार्य भइरहेको डिभिजन वन अधिकृत पौडेलले वताउनुभयो ।

सामुदायिक वन फडानी भएको सूचनाका आधारमा स्थलगत अनुगमनमा गएको डिभिजन वन कार्यालयको टोलीले जाँच मचुल्का गर्दा अवैधानिक रुपमा २६ वटा रुखका ठुटा फेला पारेको थियो । रुख काट्नको लागि डिभिजन वन कार्यालय धादिङले इजाजत नदिएको पाइएपछि वन भित्र भेटिएको करिब ६ सय ६९ क्युफिट खयरका काठ वन कार्यालयको टोलीले नियन्त्रणमा लिएर सिल गरेको जनाएको छ ।

स्थानीयबासी शिव गुभाजूसहित १५ जनाले गत मंसिर १७ गते आफ्नो लालपुर्जामा भएको जग्गामा रहेको खयरको रुख काट्न अनुमति मागेका थिए । तत्पश्चात सबै प्रक्रिया पुरा गरी डिभिजन वन कार्यालय धादिङले उनीहरुलाई १ सय ८४ वटा रुखमा टाँचा लगाइ कटानको अनुमति दिएको थियो । जसमध्ये १ सय ७४ वटा रुखहरु कटान भइ राजश्व तिरेर बेचबिखन भइसकेपछि आवादी जग्गाकै छेउछाउमा रहेको सामुदायिक वनको क्षेत्रभित्र रहेको खयरका रुखहरु काटिएको भेटिएपछि वन कार्यालयले सहायक वन अधिकृत लोकनाथ लम्साललाई अनुसन्धान अधिकृतका रुपमा खटाएको छ । कानून वमोजिम अनुसन्धान शुरु भएको र दोषीहरु मथि कारवाहीका लागि प्रकृया अघि बढिसकेको लम्सालले जानकारी दिनुभयो ।

डिभिजन वन कार्यालय धादिङका प्रमुख जीवनाथ पौडेलका अनुसार नम्बरी जग्गाको जम्मा १० रुख मात्रै काट्न बाँकी छ, १७४ वटा रुख काटेर करिब १९०० क्युफिट काठ प्रक्रिया पूरा गरेर ओसार पसार समेत भइसकेको देखिएको छ । अहिले बरामद भएको काठजति सबै सामुदायिक वनको भएको पनि पौडेलले बताउनुभयो ।

खयरको काठ पानमा राख्ने मसालाको रुपमा तथा विभिन्न रङ्ग र पालिस बनाउन प्रयोग हुन्छ । खयर नेपालको तराई र पहाडी क्षेत्रका केही गर्मी इलाकामा पाइने ठूला रुख हुने वनस्पति हो । खैरा बोक्रा ताछेर भित्री रातो रङको काठलाई पानीमा उमालेपछि त्यसको रसायनबाट बन्ने कत्था औषधि तथा मसलामा प्रयोग हुने गर्दछ । त्यसैले यसलाई बहुउपयोगी वनस्पतिको रुपमा लिइन्छ ।