धादिङका पोल्ट्री व्यवसायमा दैनिक ५० लाख घाटा

1690 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- सरकारले घोषणा गरेको लकडाउनका कारण तयारी अवस्थामा रहेको दुई लाख ब्रोइलर कुखुरा बजार पठाउन नपाउँदा पोल्टी व्यवसायी मर्कामा परेका छन् । लकडाउनका कारण कुखुरा बजारमा पु(याउन नपाउँदा समस्या भएको किसानले बताएका छन् । उपभोक्ता मासु खान नपाउने, व्यावसायी कुखुरा बेच्न नपाउने अवस्था र्सिजना हुँदा व्यवसायीहरुले नोक्सानी व्यहोर्नु परेको छ ।

जिल्लामा छ हप्तामा तयार हुने ब्रोइलर कुखुरा दुई लाख तयारी अवस्थमा छ । किसान तथा व्यवसायीको फर्ममा १२ लाख ८० हजार ब्रोइलर चल्ला हालिएको छ । अण्डा उत्पादनका लागि ५० हजार लेयर्स, ब्रोइलर चल्ला उत्पादनका लागि एक लाख १८ हजार चार सय फ्यारेन्ट फालिएका छन् ।

ब्रोइलर नरुचाउनेहरुका लागि कोइलर, गिरीराजसहित अन्य जातका एक लाख कुखुरा किसानका खोरमा छन् । दैनिक २० हजार अण्डा उत्पादन हुँदै आएको छ । जिल्लामा छ वटा ह्याचरी उद्योग छन् । जिल्लाभर विभिन्न जातका कुखुराहरुका लागि दैनिक ७७ टन दाना खपत हुँदा ४६ लाख २० हजार खर्च हुने गरेको व्यवसायीहरु बताउँछन् ।
लकडाउन अवधिमा पोल्टी व्यवसायीले दैनिक ५० लाख रुपैयाँ नोक्सानी व्यहोदै आएको छन् । दुई लाख तयारी कुखुरालाई दैनिक आठ सय बोरा दाना खुवाउँदा २४ लाख थप खर्च, चल्लामा प्रतिदिन १५ लाख ७१ हजार चार सय २८ रुपैयाँ, अण्डामा दुई लाख ४० हजार र औषधी उपचार, श्रमिक, व्याजमा सात लाख ८८ हजार पाँच सय ७२ रुपैयाँ नोक्सानी व्यहोर्नु परेको छ । नौ करोड मूल्य बराबर तयारी कुखुरा किसानको खोरमा थप खर्च व्यहोरेर राखिएको किसानहरुको गुनासो छ ।

जिल्लामा रहेका छ वटामध्ये एउटा ह्याचरी बन्द भएको छ । प्रतिहप्ता दुई लाख चल्ला उत्पादन हुँदा एक लाख पचास हजार चल्ला जिल्लामै खपत हुन्छ । लकडाउन अवधिमा २० प्रतिशत चल्ला मात्र खोरमा हालिएको छ । बाँकी ८० प्रतिशत चल्ला निकाल्नु अघि नष्ट गर्नुपर्ने बाध्यात्मक अवस्था छ । जिल्लाभर प्यारेन्ट कुखुरामा १७ करोड ७६ लाख, ब्रोइलर कुखुरामा २५ करोड ६० लाख, लेयर्स कुखुरामा ९ करोड ५० लाख, कोइलर, गिरीराज सहित अन्य जातका कुखुरा तीन करोड सहित ५५ करोड ७० लाख चालू लगानी रहेको र एक अर्ब भन्दा बढी पुँजीगत रहेको छ । पाँच जनालाई प्रत्यक्ष र १५ हजारलाई अप्रत्यक्ष रोजगारी दिेने र ठूलो लगानी भएको पोल्टी व्यावसाय एक महिनादेखि लकडाउनमा रहँदा अहिलेसम्म किसान तथा पोल्टी व्यवसायी मारमा परेका हुन् ।

कुखुराको निर्वाध रुपमा ढुवानी गर्न व्यवस्था मिलाउनु पर्ने र कुखुरा पालक किसानलाई राहत प्याकेज ल्याउनु पर्ने धादिङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बोधनाथ दुवाडीले बताए । कुखुरा बिक्री नहुने र सरकारले पनि राहत प्याकेज समयमै नल्याए किसानले डिलरमा चल्ला दानाको पैसा तिर्न सक्दैनन् ।
कोरोना संक्रमण रोक्न लकडाउन हुँदा समेत पोल्ट्रीसँग सम्बन्धि व्यवसाय खुल्ला राख्ने व्यवस्था मिलाउनु पर्ने नेपाल कुखुरा व्यवस्थापन संघको उपाध्यक्ष पदमराज कोइरालाले बताए । मासु बिक्री गर्ने पसलहरु निश्चित समय खोल्ने व्यवस्था मिलाएर उपभोक्तालाई सेवा दिनसके मात्र पोल्टी व्यवसायको लगानी केही सुरक्षित रहने कोइरालाले बताए ।

राजेन्द्र बस्नेत/कारोबार दैनिकबाट