लकडाउनको यात्रामा निस्किए सुदिप

2803 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ-विश्वव्यापी महामारीको रुपमा फैलिईरहेको कोरोना भाईरसको संक्रमणबाट  संसारनै आतंकित हुन पुगेको छ । शक्ति सम्पन्न राष्ट्रदेखि विकासमा गति लिन नसेकका सानादेशहरुको लागि पनि अहिले सबैभन्दा ठूलो चुनौती भनेको कोरोना भाईरसबाट कसरि बच्ने भन्ने रहेको छ ।

संसारकै लागि ठूलो चुनौती बनेर देखापरेको कोरोना भाईरसले नेपाललाई पनि ठप्प पारेको छ । एक महिना देखि नेपालभर सरकारले लकडाउन जारी राखेको छ । लकडाउन पछि नियमित आम्दानी श्रोत नभएका निम्न बर्गिय समुदाय, दैनिक ज्यालादारी गरेर जिवन निर्वाह गर्नेहरु, सानो पुँजीमा केही गर्न खोजिरहेकाहरुको दैनिकी चौपट हुन थालेको छ ।

 

परिवारका सदस्यहरु सँग अलग्गै बस्नुपर्दा मानिसहरुमा झनै तनाव बढ्न थालेको छ । गाउँ फर्किए खोले सिस्नु खाएर पनि बाँच्न सकिन्छ भन्दै देशका विभिन्न भागबाट मानिसहरु आफ्नो थातथलो फर्कने क्रम अझै जारी छ ।

कमाई नहुंदा घरभित्रको खर्च धान्न नसकेको पिडा एकातिर छ भने घर पुग्न सहज नहुंदा मानिसहरु सडकमा खाली खुट्टा भोकै सयौं कोशको बाटो हिंडेरै पार गरिरहेका छन ।

लकडाउन पछि निम्नवर्गिय परिवारले झेल्नु परेको पिडालाई कलाकार सुदिप खतिवडाले भिडियोमा उतारेर सार्वजनिक गरेका छन । यस जोडीका नामबाट विभिन्न हाँस्य सिरियल र सार्वजनिक कार्यक्रमहरुमा दमदार प्रस्तुती दिंदै आएका यस जोडीका एक खम्बा सुदिप अहिले आफ्नो घर धादिङको सिद्धलेक गाउँपालिकाको आदमटारमा छन । गाउँमा रहँदा उनले देखेका घटनालाई भिडियो मार्फत दर्शक सामु ल्याएका छन ।

लकडाउन यात्रा नाम दिईएको सो भिडियो सुदिपले आफ्नो के थ्रि मिडियाको युट्युव च्यानल मार्फत शुक्रवार सार्वजनिक गरेका हुन । भिडियोमा कोठा भाडा तिर्न नसक्दा घरधनीले गरेको व्यवहार, घर भित्रै बसिरहनु पर्दा परिवारका सदस्य बिच बढ्दो मनमुटाव,खर्च नहुंदा खान नपाएको पिडा, घर पुग्न शहर देखि गाउँ सम्म यात्रा गर्दा भोग्नु परेको कष्टहरुलाई समेटिएको छ । भिडियोमा सुदिपले स्थानीयलाई साथमा लिएर अभिनयमा गराएका छन । जस्मा राजाराम खतिवडा,रन्जिता माझी,नारायण गिरी,बिकास अर्याल (बिकजोन), रुपेन्द्र खतिवडा, सुसन खतिवडा,सन्दिपा गिरी, राममणी खतिवडा,श्याम माझी, कृशल अधिकारीका साथमा सुदिपको अभिनय रहेको उक्त भिडियो १२ मिनेट ४९ सेकेण्डको छ । भिडियोको छायांकन तथा सम्पादन सुसन खतिवडा मिस्टर दारीले गरेका छन भने निर्देशन तथा अबधारणा लेखन सुदिपको रहेको छ ।