बस फुटाएर टिभी चोरी गर्ने तीनजना समातिए

1551 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ -लकडाउनको कारण रोकिएर बसेका ६ वटा बस फुटाएर त्यस भित्र जडान गरिएको एलइडी टेलिभिजन सेट र म्युजिक प्लेयर लगायतका सामान चोरी गर्ने कार्यमा संलग्न तीन जनालाई धादिङ प्रहरीले पक्राउ गरेको छ।

लकडाउनपछि धादिङवेसीका विभिन्न स्थानहरुमा पार्किङ गरी राखिएको धादिङ मण्डली यातायात प्रालिद्वारा संचालित बा ४ ख ७३८०, ना ४ ख २८९१, ना ६ख ९१३० र लु २ ख १९५४ नम्बरका तीनवटा बसबाट टेलिभिजन र म्युजिक प्लेयर चोरी भएको थियो। चोरी भएको एलइडी टेलिभिजन र म्यूजिक प्लेयरसहित उनीहरुलाई बिहीबार धादिङको सिद्धलेक गाउँपालिकाबाट पक्राउ गरि अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम्‌ प्रहरी नायव उपरिक्षक रुपक खड्काले बताउनुभयो ।

चोरी कार्यमा संलग्न भएको आरोपमा पक्राउ पर्नेहरुमा सिद्धलेक गाउँपालिका ५ बस्ने २२ वर्षीय अभिषेक श्रेष्ठ,१९ वर्षीय श्याम श्रेष्ठ र २५ वर्षीय अजय श्रेष्ठ हुन्‌। एक जना भने फरार छन्। फरार व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। चोरी गरिएका एलइडी टेलिभिजन ६ थान, म्यूजिक प्लेयर ३ थान, स्पिकर २ थान, चोरी गर्न प्रयोग भएका औजारहरु ४ थान बरामद भएको प्रहरीले जानकारी दिएको छ। सामानसहित उनीहरुहरुलाई बैशाख १८ गतेबाट लागु हुने गरी चोरी मुद्दामा धादिङ जिल्ला अदालतबाट सातदिनको को म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।