सल्यानटारमा भेटिएको सालक बन कार्यालयमा बुझाईयो

1086 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, २४बैशाख – धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ सल्यानटारमा  दुर्लभ वन्यजन्तु सालक फेला परेको छ ।  घाइते अवस्थामा भेटिएको सालक  मंगलबार डिभिजन वन कार्यालय धादिङलाई बुझाईएको छ ।

सोमवार राति ११ बजेतिर घाईते सालक गाउँमा भेटिएको सल्यानटारका सञ्जु श्रेष्ठले बताउनुभयो । बिरामी कुरेर बसेका युवाहरुले छटपटाउँदै आएको सालकलाई समातेर मंगलवार बन कार्यालयमा बुझाएका हुन् ।सालक नेपाल लगायत विश्वका ४३ वटा मूलुकमा पाइन्छ । मासु र खपटाको लागि यसको तस्करी हुने गर्दछ । आकारमा न्याउरी मुसोजस्तो देखिने सालकका शरीरभर बाक्ला र कडा कत्ला हुन्छ । रातिमा मात्रै चर्न निस्कने हुनाले यसलाई कमै मानिसले देख्ने गरेका हुन्छन् ।

घाइते सालकको गाउँपालिकाको पशुसेवा शाखामा सामान्य उपचार गराई डिभिजन वन कार्यालय धादिङले बुझेको कार्यालयका सहायक बन अधिकृत एकलाल नेपालीले जानकारी दिनुभयो । थप उपचारपछि सालकलाई सोही स्थानको जंगलमा छाडिने पनि नेपालीले बताउनुभयो ।

उपचारका लागि धादिङबेसी ल्याइएको सालकको आहारा व्यवस्थापन गर्न भने समस्या छ । जंगलमा कमिला, धमिरा लगायतका किरा खाने सालकलाई उपचार अवधीमा खुवाउने कुराको समस्या हुने डिभिजन वन कार्यालय धादिङका प्रमुख जीवनाथ पौडेलले बताउनुभयो । जतिसक्दो चाँडो सालकलाई जंगलमा छाड्नु पर्ने हुन्छ प्रमुख पौडेलले बताउृनुभयो ।

सल्यानटारमा फेला परेको सालक भारतीयमूलको सालक भएको अनुमान विज्ञहरुले गरेका छन् । स्थानीयले पनि जंगलमा जोडी सालक देखेको बताएका छन् । विश्वमै दुर्लभ मानिएको सालक धादिङ लगायत नेपालका केही भागमा पाइन्छ । यस्लाई दुर्लभ बन्यजन्तु मानिएको छ ।

एउटा सालकले वर्षमा ७ करोडभन्दा बढी धमिरा र कीरा कमिला खान्छ । सालकले किसानको बालीनाली नोक्सान गर्ने कीरा, कमिला र धमिरा खान्छ । बालीलाई नोक्सान गर्नसक्ने कीरा र धमिरालाई प्राकृतिक तरिकाले नियन्त्रणमा लिने हुँदा सालक मानव समुदायका लागि हितकारी जीव पनि हो ।

सालक विश्वको सबैभन्दा धेरै बेचबिखन हुने स्तनधारी जनावर हो । कानुनले सालकको अवैध शिकार वा व्यापार गर्नेलाई जेल सजायको व्यवस्था समेत गरेको छ ।