जिल्ला प्रवेश गर्ने सबै नाकामा कडाई-जिल्ला प्रवेशमा प्रतिबन्ध

1765 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, – अत्यावश्यक सेवाका बाहेक अन्य सवारी साधन र व्यक्तिलाई धादिङ जिल्ला प्रवेश गर्न रोक लगाईएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले शुक्रवार देखि जिल्ला प्रवेश गर्ने सबै नाकाहरुमा कडाई गर्नेे भएको छ ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा शुक्रबार धादिङबेसीमा बसेको संकट व्यबस्थापन केन्द्रको बैठकले काठमाडौँ, चितवन, मकवानपुर, गोरखा र नुवाकोट जिल्लाबाट धादिङ प्रवेश गर्ने नाकाहरुबाट बाहिरी मानिसहरुको प्रवेशलाई रोक्ने र अत्यावश्यक बाहेक अन्य सवारी साधन चल्न नदिने निर्णय गरेको हो ।

संकट व्यबस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले संघीय सरकारले गरेको निर्णयलाई कडाइका साथ लागु गर्दै काठमाण्डौंबाट धादिङ प्रवेश गर्ने पिपलमोड र चितवनबाट धादिङ प्रवेश गर्ने मौवाखोला, भिमढुंगाको नर्र्सरी भन्ज्याङका साथै मकवानपुरबाट प्रवेश गर्ने दामेचौर नाकाबाट अत्यावश्यक सेवाका बाहेक अरु कुनै पनि सवारी साधन तथा मानिसको आवागमनलाई पूर्णत निषेध गर्ने निर्णय गरेको हो । यसै गरी गोरखा जिल्लाबाट धादिङ प्रवेश गर्ने बुङकोटघाट, घाटबेसी,आरुघाटका साथै नुवाकोट जिल्लाबाट धादिङ प्रवेश गर्ने कोल्पुटारको नाकामा पनि निर्णय कडाईका साथ लागू गरिने धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले वताउनुभयो ।

जिल्ला प्रवेश गर्ने नाकाहरुमा कडाई गरिनुका साथै पृथ्वीराजमार्गको मलेखु फुर्केखोलाबाट पनि वाहिरी जिल्लाबाट आएकाहरुलाई सदरमुकाम तर्फ आउन रोक लगाईएको प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिनुभयो ।

समितिले नयाँ सवारी पास वितरणमा रोक लगाएको छ भने सञ्चालन पास नभएका सवारीसाधन सञ्चालनमा ल्याइए तत्काल प्रहरीले नियन्त्रणमा लिइ संक्रामक रोग ऐन २०२० को दफा ३ बमोजिम कारबाही गरिने निर्णय समेत गरेको छ । खाद्यान्न, औषधि पसल लगायतका दैनिक अत्यावश्यक पसल बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन गर्न दिने निर्णय बैठकले गरेको छ ।

केही दिन यता बाहिरी जिल्लाका मानिसहरु व्यक्तिगत तथा समूहगत रुपमा जिल्लामा प्रवेश गर्ने क्रम बढ्दै गएपछि संघीय सरकारको निर्णय र निर्देशनको आधारमा अहिलेका लागि बाहिरी जिल्लाबाट आएका जो कोहीलाई पनि जिल्लामा प्रवेश रोक्नु परेको प्रमुख जिल्ला अधिकारी तामाङले वताउनुभयो ।

निर्माण क्षेत्रमा कामदारको अभाव भएको भन्दै जिल्लाबाहिरका नागरिक आउनेक्रम बढ्दा गाउँ गाउँमा कोरोना संक्रमणको जोखिम फैलने तर्फ सचेत भई स्थानीय जनशक्तिलाई निर्माणका काममा लगाउन संकट व्यबस्थापन केन्द्रले जिल्लाका निर्माण व्यवसायी र निजी क्षेत्रलाई अनुरोध गरेको छ ।

यसै गरि धादिङ उद्योग वाणिज्य संघको अगुवाईमा जिल्लाका विभिन्न बिषयगत क्षेत्रका संघ संस्थाहरुको संयुक्त बेठकले जिल्ला बाहिरबाट तरकारी ढुवानीमा रोक लगाउन संकट व्यवस्थापन केन्द्रलाई अनुरोध गरेको छ ।