सिद्धलेकका ३ सय ९८ घर परिवारलाई खाद्यान्न सहयोग

1152 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

२६बैशाख, धादिङ – सिद्धलेक गाँउपालिकाका गरिब तथा विपन्नलाई खाद्यान्न सहयोग गरिएको छ । गाउँपालिकाको सिफारिसमा अन्र्तराष्ट्रिय गैरसरकारी संस्था क्रिस्चियन एडले आफ्नो साझेदार संस्था फोकस नेपाल धादिङ मार्फत गरिब र विपन्नहरुका लागी खाद्यान्न सहयोग गरेको हो ।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस संक्रमण फैलन नदिन रोकथामको लागी नेपाल सरकारले डेढ महिना देखि जारी राखेको लकडाउनका कारण खाद्यान्न संकटमा परेका दैनिक ज्यालादारी मजदुर,असहाय, गरिब तथा अति विपन्नहरुका लागी गाँउपालिकाको सिफारिसमा आकस्मिक सहयोग स्वरुप खाद्यान्न बितरण गरिएको हो ।

आइतबार सम्म ३,४, ५, ६ र ७ नम्बर वडाका ३ सय ९८ घर परिवारलाई वडा कार्यालयबाट आएको सिफारिसका आधारमा सहयोग उपलव्ध गराईएको फोकस नेपालका कार्यक्रम संयोजक जिवन सिलवालले जानकारी दिनु भयो ।
कार्यक्रम संयोजक सिलवालका अनुसार राहत प्याकेजमा सिफारिश भई आएका प्रत्येक परिवारलाई ३० किलो चामल, ३ किलो दाल, २ किलो नुन, २ लिटर खाने तेलका साथै हात धुने साबुन, मास्क तथा पन्जा उपलव्ध गराईएको छ ।

सामाग्री बितरण बितरण कार्यमा गाउँपालिकाका अध्यक्ष पे्रमनाथ सिलवाल,उपाध्यक्ष कमला शर्माका साथै सम्वन्धित वडाका अध्यक्षहरु, वडाका सदस्यहरु फोकस नेपालका प्रतिनिधि, क्रिश्चियन एडका प्रतिनिधिहरुको उपस्थिति रहने गरेको सिलवालले वताउनु भयो ।
गाउँपालिकाको ८ वटै वडामा सम्वन्धित वडाको सिफारिसका आधारमा संस्थाले सहयोग सामाग्री बितरण गर्ने कार्यक्रम रहेको वताईएको छ ।