कटुवालपौवा पुगेर स्वास्थ्यकर्मीले लिए ३६ जनाको स्वाब

1075 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- धादिङको गल्छी गाउँपालिका ८ गोगनपानी कटुवालपौवाकी ३० बर्षिया महिलामा कोरोना संक्रमण पाइएपछि उनको सम्पर्कमा आएका ३६ जनाको स्वाव संकलन गरि परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं पठाईएको छ ।

बिशेषज्ञ डाक्टरका साथमा स्थानीय तहका स्वास्थ्यकर्मीहरु सहितको टोलीले शनिवार गल्छीको कटुवालपौवा गाउँमा पुगेर ३६ जनाको स्वाब संकलन गरेको गल्छी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद ज्ञवालीले वताउनुभयो ।
स्वाब संकलनका लागि वागमती प्रदेश सरकारको स्वास्थ्य सेवा निर्देशनालयका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर पुरुषोत्तम सुवेदी, निर्देशक डाक्टर रमेश अधिकारी, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डाक्टर समिक्षा न्यौपाने दुलालका साथमा गल्छी गाउँपालिकाका स्वास्थ्यकर्मीहरु सहितको टोली शनिवार कटुवाल पौवा पुगेको थियो ।

स्वास्थ्यकर्मी टोलीले संक्रमित महिलाका घर र माइतीका साथै उनी संग सम्पर्कमा आएकाहरु ३६ जनाको पहिचान गरि ति सबैको स्वाब लिएको हो । धादिङको गल्छी गाउँपालिका ८ कटुवालपौवा घर तथा माइत भई काठमाडौंको चन्द्रागिरि नगरपालिका सतुंगलमा कोठा भाडामा लिएर बस्दै आएकी ३० वर्षीया महिलामा बिहीबार साँझ कोरोना संक्रमण भएको पुष्टि भएको थियो । महिलाका पति र ७ बर्षिय छोराको पनि काठमाण्डौंको सतुंगल स्थित डेरामा गएर स्वाब संकलन गरिएको वडाअध्यक्ष तामाङले वताउनुभयो ।

लकडाउन सुरु भएको एक सातापछि चैत १८ गते मोटरसाइलमा घर आएका उनीहरु सोही मोटरसाइकल प्रयोग गरेर वैशाख २८ गते काठमाडौं फर्किएका थिए । घरमा आएको बेला ती महिलाले मेलपात जाने, बजार आउजाउ गर्नुका साथै बैशाख २५ गते घरमा भएको कुलपुजामा आएका आफन्तहरु संग सम्पर्क भएको हुन सक्ने गर्दा छरछिमेकी आफन्त र अन्यको पहचिान गरि उनिहरुको पिसिआर परिक्षणका लागि स्वाब संकलन गरिएको गल्छी गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष भरत तामाङले जानकारी दिनुभयो ।

जिल्ला सुरक्षा समितिले शुक्रबारदेखि कटुवालपौवा र आसपासको गाउँ सिल गरेको छ । शुक्रबार बिहानबाट गल्छी गाउँपालिका ८ को पूर्वमा चैनपुर चुली, पश्चिममा नेपाली सेनाको ६ नम्बर बाहिनी अड्डा, उत्तरमा महेशखोला र त्रिशूली नदी तथा दक्षिणमा पृथ्वी राजमार्गको गल्छी बजारबाट नुवाकोट जाने सडक बीचको क्षेत्रमा केही पनि आउजाउमा रोक लगाइएको छ । यी चारकिल्लाभित्र आगामी जेठ ६ गते राति १२ बजेसम्मका लागि संक्रामक रोग ऐनअनुसार निषेधाज्ञा जारी गर्दै सिल गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।