कटुवालपौवाका ३६ जनाकै पिसिआर नेगेटिभ, पति र छोरामा पनि देखिएन कोरोना

2087 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ५ जेठ-  धादिङको गल्छी गाउँपालिका ८ गोगनपानी कटुवालपौवाकी ३० बर्षिया महिलामा कोरोना संक्रमण पाइएपछि उनको सम्पर्कमा आएका ३६ जनाको स्वाब परिक्षण गर्दा सबैजनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

संक्रमित महिलाको सम्पर्कमा रहेका परिवारका सदस्य,आफन्त र छरछिमेकी समेत गरि ३६ जनाको स्वाब संकलन गरि परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं पठाईएको थियो । प्रयोगशालाले आईतबार राती परिक्षणको रिर्पोट सार्वजनिक गर्दा सबै जनाको रिपोर्ट नेगेटिभ आएको गल्छी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद ज्ञवालीले वताउनु भयो ।

बिशेषज्ञ डाक्टरका साथमा स्थानीय तहका स्वास्थ्यकर्मीहरु सहितको टोलीले शनिवार गल्छीको कटुवालपौवा गाउँमा पुगेर ३६ जनाको स्वाब संकलन गरेको थियो ।


स्वाब संकलनका लागि वागमती प्रदेश सरकारको स्वास्थ्य सेवा निर्देशनालयका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर पुरुषोत्तम सुवेदी, निर्देशक डाक्टर रमेश अधिकारी, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डाक्टर समिक्षा न्यौपाने दुलालका साथमा गल्छी गाउँपालिकाका स्वास्थ्यकर्मीहरु सहितको टोली शनिवार कटुवाल पौवा पुगेको थियो ।

स्वास्थ्यकर्मी टोलीले संक्रमित महिलाका घर र माइतीका साथै उनी संग सम्पर्कमा आएकाहरु ३६ जनाको पहिचान गरि ति सबैको स्वाब लिएको थियो । धादिङको गल्छी गाउँपालिका ८ कटुवालपौवा घर तथा माइत भई काठमाडौंको चन्द्रागिरि नगरपालिकाको सतुंगलमा कोठा भाडामा लिएर बस्दै आएकी ३० वर्षीया महिलामा बिहीबार साँझ कोरोना संक्रमण भएको पुष्टि भएको थियो । महिलाका पति र ७ बर्षिय छोराको पनि काठमाण्डौंको सतुंगल स्थित डेरामा गएर स्वाब संकलन गरि परिक्षण गर्दा उनिहरुको पनि रिपोर्ट नेगेटिभ देखिएको वडाअध्यक्ष भरत तामाङले वताउनु भयो ।

लकडाउन सुरु भएको एक सातापछि चैत १८ गते मोटरसाइलमा घर आएका महिलाका पति र छोरा सोही मोटरसाइकल प्रयोग गरेर वैशाख २८ गते काठमाडौं फर्किएका थिए । घरमा आएको बेला ती महिलाले मेलापात जाने, बजार आउजाउ गर्नुका साथै बैशाख २५ गते घरमा भएको कुलपुजामा आएका आफन्तहरु संग सम्पर्क भएको हुन सक्ने भन्दै सम्पर्कमा आएका छरछिमेकी आफन्त र अन्यको पहिचान गरि उनिहरुको पिसिआर परिक्षणका लागि स्वाब संकलन गरि पठाईएकोमा सबै जनाको रिपोर्ट नेगेटिभ आएपछि गाउँबासीमा फैलिएको त्रास कम हुंदै गएको वडाअध्यक्ष भरत तामाङले वताउनुभएको छ ।

संक्रमण फैलन नदिन भन्दै जिल्ला सुरक्षा समितिले शुक्रबारदेखि कटुवालपौवा र आसपासको गाउँ सिल गरेको छ । शुक्रबार बिहानबाट गल्छी गाउँपालिका ८ को पूर्वमा चैनपुर चुली, पश्चिममा नेपाली सेनाको ६ नम्बर बाहिनी अड्डा, उत्तरमा महेशखोला र त्रिशूली नदी तथा दक्षिणमा पृथ्वी राजमार्गको गल्छी बजारबाट नुवाकोट जाने सडक बीचको क्षेत्रमा केही पनि आउजाउमा रोक लगाइएको छ । यी चारकिल्लाभित्र आगामी जेठ ६ गते राति १२ बजेसम्मका लागि संक्रामक रोग ऐनअनुसार निषेधाज्ञा जारी गर्दै सिल गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।