धादिङ थाँक्रेका १० जनाको पिसिआर रिपोर्ट नेगेटिभ

1212 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,९ जेठ – धादिङ जिल्लाका तेश्रो कोरोना संक्रमित थाँक्रे गाउँपालिका वडा नम्बर ७ का एक पुरुषको परिवार र सम्पर्कमा रहेका १० जनाको पिसिआर परिक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

थाक्रे गाउँपालिका वडा नम्बर ७मा घर भई काठमाण्डौंको वागबजारमा प्रेस संचालन गर्दै आएका ४१ बर्षिय पुरुषमा मंगलबार कोरोना संक्रमण देखिएपछि उनको घरपरिवार र सम्पर्कमा रहेका १० जनाको स्वाब संकलन गरि परिक्षणका लागि लगिएको थियो । उनको आमा, श्रीमती, एक छोरा, एक छोरी र भाई को साथै नजिक रहेको अन्य ५ जनाको स्वाब परिक्षण गरिएको थियो ।

लकडाउन शुरु भएपछि चैत ११ गते घर आएका ति पुरुष बैशाख २८ गते काठमाण्डौं फर्किएका थिए । काठमाण्डौं पुगेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाब परिक्षण गराउँदा कोरोना संक्रमण देखिएपछि उनी अहिले बलम्बु स्थित शशस्त्र प्रहरी अस्पतालको आईशोलेसनमा रहेका छन् ।

अढाई बर्षका बालक बसेको गाउँ गरियो शिल
यसै बिच धादिङको गंगाजमुना गाउँपालिका वडा नं ४ स्थित गुम्दी स्वास्थ्य चौकीमा लामो समय बसेर काठमाण्डौ फर्किएका लमजुङ जिल्लाका साढे २ वर्षका बालकमा कोरोनाको संक्रमण देखिएपछि उनी बसेको स्वास्थ्य चौकी र आसपासका क्षेत्रलाई स्थानीय प्रशासनले शिल गरिएको छ ।

जिल्ला सुरक्षा समितिले शिल गरेपछि स्वास्थ्य चौकीबाट प्रदान गरिने सम्पुर्ण सेवाहरु अनिश्चितकालको लागि बन्द गरिएको छ । सरकारले लकडाउन घोषणा गरेपछि काठमाण्डौमा रहेका ती बालक आफ्नी आमासंगै मामाघरको हजुरवुवा कार्यरत गंगाजमुना गाउँपालिकाको गुम्दी स्वास्थ चौकीमा गत चैत १२ गते आएका थिए ।

गत बैशाख २९ गते आमासहित काठमाण्डौ फर्किएका उनीहरुलाइ घरवेटीले कोरोना चेकजाँच गर्न लगाएपछि परीक्षण गर्दा बालकमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको थियो । सँगै रहेकी बालकको आमालाई भने कोरोना नदेखिएको वताईएको छ ।
जिल्ला सुरक्षा समितिले ती बालकका हजुरवुवा कार्यरत गुम्दी स्वास्थ्य चौकीको सम्पुर्ण सेवा बन्द गराएको छ भने उनी बसेको घरक्षेत्रका चारकिल्ला तोकेर शील गरिएको छ । स्वास्थ्य चौकी रहेको पुर्वमा सुर्दुङ खोला, पश्चिममा सातदोवाटो जाने बाटो, उत्तरमा धंगारचौर र दक्षिणमा सताहखोलावीचको क्षेत्रलाइ बिहिवार देखि पुर्ण रुपमा शील गरि निषेधाज्ञा जारी गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो ।

ती बालकका हजुरबुबासहित उनको सम्पर्कमा आएकाहरू, गुम्दीमा उनीहरूले डेरा लिएको घरका परिवारको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब संकलन गर्न थालिएको स्वास्थ्य कार्यलय धादिङका महामारी फोकल पर्सन दिपक अछामीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो , ‘पहिलो चरणमा हाल २९ जनाको स्वाव संकलन गरेको छौँ, पिसिआर परीक्षणको लागि विहीवारनै काठमाण्डौ पठाउने छौँ ।’
गुम्दी स्थित ती स्वास्थ्यकर्मीले डेरा लिएर बसेको क्षेत्रवरपर १५÷२० वटा स्थानीयका घरहरु रहेका छन् । गंगाजमुना गाउँपालिकाका स्वास्थ्य संयोजक दीपक अधिकारीका अनुसार डेरावरपरका परिवारको पनि लगत संकलन गरिएको छं, सबैभन्दा नजिकका नातेदारको पीसीआर गरेपछि त्यसको नतिजा बमोजिम अरुको पनि परिक्षण गरिने छ ।

धादिङका ९  स्वास्थ्यकर्मीको आरडिटी पोजेटिभ
धादिङ जिल्लाका ८१ जना स्वास्थ्यकर्मी र स्वास्थ्य कर्मचारीमा आरडिटी परिक्षण गर्दा ९ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जिल्ला अस्पताल धादिङका ७९ जना कर्मचारीहरुमा कोरोना भाइरसको आरडिटी गर्दा ७ जनामा पोजेटिभ देखिएको छ । बुधवार जिल्ला अस्पताल धादिङबाट आकस्मिक बाहेकका सेवाहरु बन्द गरेर ७९ जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको आरडीटी गरिएको थियो । त्यसै गरि जिल्लाकै त्रिपुरा सुन्दरी गाउँपालिकाको वडा नं ३ स्थित मुलपानी स्वास्थ्य चौकी अन्तरगत रहेका १ जना महिला स्वास्थ्य स्वयं सेविका र १ जना स्वास्थ्यकर्मीको पनि आरडीटी पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
आरडीटीमा पोजेटिभ देखिएकाहरुलाइ क्वारेन्टाइनमा राखी उनीहरुको स्वाव संकलन गरेर पिसिआर परीक्षणको लागि काठमाण्डौ पठाइएको स्वास्थ्य कार्यालय धादिङका प्रमुख डाक्टर भुवन पौडेलले वताउनुभयो ।