मुलपानी खयर काण्डमा संलग्न तीन जना धरौटीमा छुटे

1203 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

धादिङ– खयर फडानीमा संलग्न रहेको आरोपमा थुनाामा रहेका धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ३ का चार जनालाइ धरौटीमा छाड्न जिल्ला अदालत धादिङले आदेश दिएको छ । अदालतको आदेश पछि थुनामा रहेका ३ जना धरौटी बुझाएर रिहा भएका छन धरौटी बुझाउन नसक्दा एक जना कारागार चलान भएका छन् ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नम्बर ३ को दुईवटा सामुदायिक बन क्षेत्रभित्र भएको खयर फडानीमा संलग्न भएको आरोपमा डिभिजन बन कार्यालय धादिङले ६ जना बिरुद्ध कैद सजायँ र जरिवानाको माग दावी गर्दै जिल्ला अदालत धादिङमा मुद्धा दायर गरेको थियो ।

लकडाउनकोे मौका छोपेर अबैध ढंगबाट खयर कटान कार्यमा संलग्न भएको आरोपमा विगो वापतको दोव्वर जरिवाना र कैद सजायँको माग दावी गर्दै जेठ २ गते डिभिजन वन कार्यालयले जिल्ला अदालतमा मुद्धा दर्ता गराएकोे थियो । बन कार्यालयले २ वटा बन समितिका ४ जना र ठेकेदार २ जना समेत गरि छ जनालाई दोषि देखाई कारवाहीको माग दावी गरेको थियो ।

बन ऐन ७६ को दफा ४९ को दफा च र छ बमोजिमको सजायँको माग दावी लिई गत जेठ २ गते डिभिजन बन कार्यालयको तर्फबाट जिल्ला अदालतमा मुद्धा दायर गरिएको डिभिजन बन अधिकृत जिवनाथ पौडेलले जानकारी दिनुभयो ।

मुद्धा दायर गरिएकाहरु मध्ये जलेश्वरी सामुदायिक बनको अध्यक्ष श्याम बहादुर बानियालाइ अदालतले ८ लाख रुपैया धरौटी मागेको थियो । बानियाँले धरौटी बुझाउन नसकेपछि कारागार चलान गरिएको छ । त्यस्तै सोही बनका सचिव गणेश बहादुर अधिकारी १० लाख रुपैया धरौटी बुझाएर रिहा हुनुभएको छ । अधिकारी रातमाटा खोपाको बन समूहको कोषाध्यक्ष समेत हुनुहुन्छ । त्यस्तै रातमाटा खोपाको पाखा बनका अध्यक्ष कमल बहादुर बानिया र सदस्य डिल बहादुर रुवाली जनही २ लाख धरौटी बुझाएर रिहा भएका छन् ।

खयरको काठ ओसार पसार तथा बेचविखन गर्ने कार्यमा संलग्न व्यापारीद्धय पाल्पा जिल्ला चोपपानी घर भई बुटवल बस्ने गुप्तबहादुर सारु र गुल्मी जिल्ला रुरुक्षेत्र घर भएका मित्रलाल सारुलाई पनि सजायको माग गरि मुद्धा दर्ता भएको छ । उनीहरु दुवै जना फरार रहेका छन । उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरि खोजी कार्य जारी रहेको डिभिजन बन कार्यालय धादिङले जनाएको छ ।

बन कार्यालयले दायर गरेको मुद्धामा माता जलेश्वरी सामुदायिक बन उपभोक्ता समितिका पदाधिकारी र ठेकेदारलाइ जनही १३ लाख ९८ हजार को दोव्वर जरिबाना र २ बर्ष कैद सजायँको माग दावी गरिएको थियो । रातमाटा खोपाको पाखा सामुदायिक बन तर्फ जनही दुई लाख ६५ हजार बमोजिमको जरिबाना र १ बर्ष कैद सजायँको माग दावी गरिएको थियो ।

बन क्षेत्रभित्र प्रवेश गरि अबैध ढंगबाट खयर जातको काठ फडानी भएको पाईएपछि बन ऐन अनुसार कारवाही गर्न अनुसन्धान गरिएको डिभिजन बन कार्यलयले जनाएको छ । कार्यालयले २ वटा अनुसन्धान टोली बनाएर अनुसन्धान गरेको थियो ।

स्थानीय शिव गुभाजुको निजी जग्गाभित्रको खयर रुख कटानका लागि स्वीकृति पाएका ठेकेदारले बन उपभोक्ता समिति संग मिलेर लकडाउनको मौका छोपेर अनुमति नपाएको खयर अबैध ढंगबाट चोरी तस्करी गरि काटिएको भन्दै स्थानीयले डिभिजन वन कार्यालयमा जानकारी दिएपछि खयर कटानको घटना वाहिर आएको थियो ।

 

स्थानीयको उजुरी पछि डिभिजन वन कार्यालय धादिङले अनुसन्धान अधिकृत मार्फत स्थलगत अनुसन्धान गरि कटान भएका रुखको पहिचान गरि १३३९ थान ७७६.३७ क्युफिट काठ बरामद गरेको थियो ।