भारतबाट नेपाली ल्याउन २० नाका खोलिंदै

1332 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डौ । कोरोना संक्रमणले महामारीको रुप लिन थालेपछि वन्द हुन पुगेको नेपाल भारत सिमा नाका खुकुलो पारेर भारतबाट नेपाल आउन चाहने नेपालीलाई ल्याउन सरकार तयार भएको छ ।

सरकारले भारतबाट नेपाल प्रवेश गर्ने नागरिकहरुका लागि २० वटा सीमा नाका तोकेको छ ।

यो निर्णयसँगै सरकारले लकडाउन खुकुलो पार्ने संकेत समेत दिएको छ । सीमा नाका समेत खुकुलो पार्ने सरकारले आन्तरिक लकडाउन समेत खुकुलो पार्ने तयारी गरिरहेको छ ।

शुक्रबार बसेको कोरोना नियन्त्रण उच्चस्तरीय समितिको बैठकले भारतबाट नेपाल भित्र्याउने २० नाका तोकेको हो ।

प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीका अनुसार पशुपतिनगर, काँकडभिट्टा, रानी, कुनौली, ठाडी, माडर, भिट्टामोड, मलंगवा, गौर, वीरगञ्ज, महेशपुर, वेलहिया, तौलिहवा, कृष्णनगर, जमुनाह, सुरजपुर, गौरिफन्टा, गड्डाचौकी, झुलाघाट र दार्चुला नाका नेपालीका लागि देश प्रवेश गर्ने नाकाका रुपमा तोकिएका हुन् ।

सरकारले भारतबाट झण्डै तीन लाख नेपालीले तत्काल नेपाल आउन चाहेको बताएको छ ।