किन हामी फेसबुक र चटपटेप्रेमी भएको ?

1168 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

  • मेरो सुकौरा

म आजभोली सामाजिक संजाल फेसबुकमा दैनिक १० औं घण्टासम्म झुन्डिरहने मानिसहरु देखिरहेका छु । म आजभोली अरुको टिकटक हेरेर खिल्ली उडाउँदै मुर्छा परेर हाँस्नेहरुले पनि हास्यास्पद टिकटक भिडियो बनाएको देख्छु । साँच्चै मान्छेहरुले रोजगारी नै गुमाएका हुन् त ! ‘समय कटाउने काल पर्खने’ अवस्थामा हामी पुगिसकेका हौं त ?

कोरोना भाइरस (कोभिड– १९)को संक्रमणले अवस्था सहज पक्कै पनि छैन । तर, यती भन्दैमा आत्मसमपर्ण गर्दै हातहरु मोबाइल चलाउनकै लागि बनाइएको हो भन्ने परिभाषित गर्न खोजेका हौ हामीले ? त्यसो भए गाउँ घरतिर त गर्नसकिने कामहरु प्रशस्तै छन् त, किन त्यही फेसबुकको चटपटे पोस्टमा हामीले समय बिताइरहेका छौं ? किन त्यही टिकटकका भिडियो हेर्दै निन्द्रा बिगारिरहेका छौं ?

करिब १० वर्ष अघिसम्म हामी गाउँबाट काठमाडौँ, पोखरा, चितवन वा अन्य गन्तब्यमा जाँदा वा ति गन्तब्यबाट फर्कदा चटपटेको स्वाद मलेखु पुलमा मात्रै लिन सक्थ्यौं । मलेखु आउनै लाग्दा हातमा २०–३० रुपैयाँ लिएर चटपटे बनाइदिनुस्, भन्न हामीलाई हतार हुन्थ्यो । अहिले त्यो चटपटेको बजार गाउँ–गाउँमा फैलिएको छ । चटपटेको व्यापार ठेला, साइकल, किराना पसले, होटल, स्टेशसनरी पसलमा मात्रै सीमित छैन, केही इलेक्ट्रोनिक्स पसलमा समेत यसको व्यापार भएको देखिन्छ । किनकी यसबाट फाइदा छ नि ! तर, हामी त्यो मुख्यतः ५–७ थोक भए पुग्ने चटपटे आफै बनाउनेबारे किन सोच्दैनौं ? पैसा खर्च गरेपछि मिठो हुन्छ भन्ने भ्रमलाई त्याग्न किन सक्दैनौं ? घरैमा सहजै बनाउन सकिने चटपटे परिवारसँगै बसेर खाँदा कति मिठो हुन्छ, सोच्नुभएको छ ?

त्यस्तै, १८ घण्टासम्म फेसबुक चलाएर तपाईले के पाउनुहुन्छ ? अझै बिडम्बना के भने मोबाइलको डाटाबाट फेसबुक चलाउने परिपाटीले तपाईको मासिक खर्च कतिसम्म पुगेको छ थाहा छ ? फेसबुक चलाउँदै हिड्दा तपाईले आफ्नो ढाड बाँगिसकेको समेत थाहा पाउनुभएको छैन कि ! वा थाहा पाएर पनि तपाईले बेवास्ता गर्दै हुनुहुन्छ ?

मैले यस लेखमा फेसबुक र चटपटेलाई तुलना गरेको छु । किनकी दुवै हाम्रो लागि लतजस्तै भइसकेको छ । यसको अपरिहार्य आवश्यकता नै छैन । किनकी फेसबुक र चटपटे विशेष गरेर दक्षिण एशियाली मुलकहरुमा बढी रुचाइन्छ । युरोपियन, अमेरिकन देशका नागरिकहरुले प्रयोग गरे पनि धेरै यसको लतमा फसेका छैनन् । यसले पनि प्रष्ट हुन्छ हामी किन पछि छौं । फेसुबकले हाम्रो संवेदनामाथि खेलवाड गरिरहेको छ । यसको मलतब मैले फेसबुकमा नचलाउनुस् भनेको होइन । फेसबुकमा आजभोजी सबै जोडिएका छन् । धेरै बुझेकाहरुले यसको प्रयोग सीमित र आवश्यक परेको समयमा मात्रै प्रयोग गर्छन् । तर, हामी बुझेर पनि यसैमा घण्टौं बिताइरहन्छौं । कसैको म्यासेज आयो कि ! नोटिफिकेशनमा रातो साइन देखियो कि ! कसैले केही पोस्ट गर्यो कि ! कुनै काण्ड पो आयो कि ! भन्नेतिर हाम्रो ध्यान गइहाल्छ । हामीजस्तो गरिव देशका नागरिकहरु फेसबुककै कारण ‘मुर्ख’ हुन थालेका छौं । किनकी कसैले अफवाह फैल्याउन केही लेखे वा शेयर गरे पत्याइहाल्ने भएका छौं । जसको कारण हामी जेलसम्म पुग्नसक्छौं भन्ने कुरालाई बिर्सेका छौं । तपाईले जानेर वा नजानेर फेसबुकमा केही कुरा पोस्ट गर्दा वा शेयर गर्दा जेलसम्म पुग्न सक्नुहुन्छ । कतिपयले यो अनुभव साँटिसकेका छन् । फेरि किन त्यो जोखिम तपाई मोल्नुहुन्छ ?

हामी फेसबुकबाट फैलने अफवाहप्रति सचेत हुनुपर्छ । भाइरल हुने कुरा दीर्घकालिन हुँदैन । यो क्षणिकको लागि मात्रै हो । समाचारकै स्रोतको लागि फेसबुक होइन संचारमाध्यामहरु हुन सक्छन् । फेसबुकमा जोडिएका विश्वासिला संचारमाध्याम पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाईनको प्रयोग गर्न सक्छौं । हामी पत्रपत्रिका पढौं, रेडियो सुनौं, टेलिभिजन हेरौं, अनलाईनमा प्रकाशित समाचार पढौं । तर, क्लिकबेट (मान्छे आकर्षित गर्न झिल्केमिल्के पारिएको डिजाइन) तथा सस्तो (तल्लो स्तरको) हेडलाइन भएका अनलाइनका समाचार तथा युट्युब भिडियोलाई बहिस्कार गरौं । तपाईले समाचार पढ्दा वा भिडियो हेर्दा अपलोड गर्नेले पैसा कमाइरहेका हुन्छन् । तपाई भने मोबाइलको महँगो डाटा सक्दै भावुक बन्दै वा हाँस्दै गरिब बन्नुहुन्छ । कसैलाई सहयोग गर्नको लागि तपाईको काम महत्वपूर्ण हुन्छ । तपाईले टाइमलाइनमा पोस्ट शेयर गर्दैमा तपाईको मनमा भगवान्ले वास गर्नुहुन्न । असाहयहरुलाई सहयोग गर्ने हो धेरै भावुक भएर फेसबुकमा पोस्ट नगर्नुहोस् । कतै तपाईले आफ्नै घरका सदस्यलाई नै अपमान गर्दै हुनुहुन्छ कि ? ठूला कुरा गरेर आफ्नो धरातल बिर्सदा तपाई खिल्ली सयौंले उडाइरहेको हुन्छ । क्षणिक भन्दा पनि दीर्घकालिन सोचमा हामीमा हुनुपर्छ । यो लेखमा फेसबुकलाई चटपटेको विम्बको रुपमा लिइएको हो । फेसबुक, टिकटक मात्रै होइन ट्वीटर, युट्युव, इन्स्टाग्राम, टिन्डर वा जति पनि सामाजिक संजाल आए पनि हामी सँधै त्यही झुन्डिरहनु हुँदैन ।

अतः हामी जटिल अवस्थामा रहेको कारणले गर्दा समय र पैसाको महत्व बुझ्ने कोशिस गरौं । यही विसम अवस्थामासंचार माध्याममा राम्रा समाचार र कार्यक्रमहरु पनि प्रकाशित भएका छन् । रेडियो टेलिभिजनले निःशुल्क कक्षाहरु लिइरहेका छन् । घरमा भएका महँगा रेडियो तथा टेलिभिजनको पनि सदुपयोग गरौं, फेसबुकका चटपटे फण्डाहरुबाट आफु सचेत रहौं । तपाई सँधै सामाजिक संजालमा झुमेर बस्नुहुन्छ अनि मानिसहरुलाई अर्ति उपदेश दिनुहुन्छ भने तपाईले भनेको कुरा कसले पत्याउँछ ? काम गर्ने मान्छेलाई पो सबैले मान्छन् कि होइन र !

मैले केही महिना सामाजिक संजालको अध्यायन गरेको आधारमा यो लेख तयार गरेको हुँ । यो लेख विशेष गरेर गाउँले परिवेशका मानिसहरुप्रति लक्षित भएको कारणले गर्दा कतिपय तथ्यांकहरु प्रस्तुत गरेको छैन । तथ्यांक प्रयोग गर्दा नबुझ्ने तथा लेख लामो भएपछि पढ्न झन्झट मान्ने भएको कारणले गर्दा छोटो बनाउने प्रयास गरेको हुँ । धन्यवाद !