लकडाउनलाई अवसरका रुपमा लिऔं

2050 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

  • सानुबाबु तिमिल्सिना


सिद्धलेक गाउँपालिका वडा नम्वर १ स्थित बैरेनी क्षेत्रका युवाहरुले अहिले जारी लकडाउनको यो अवधिमा राम्रो काम गरेका छन् । गाउँमा खानेपानीको दुःख रहेको अवस्थालाई मध्यनजर गर्दै गाउँका युवाहरुले गाउँमा ल्याइएको खानेपानीको लाइन मर्मत गरी पानी सुचारु गर्न सफल भए । गाउँमा झण्डै ६ किलोमिटर टाढा ठुलोखोलाबाट लगिएको पानी राम्रोसँग गाउँमा पुगेको थिएन । झण्डै दश बर्ष अगाडि बनेको सो योजनाबाट गाउँका मानिसहरुले धित मरुञ्जेलसम्म पनि पानी खान पाएका थिएनन् । तर अहिले घर घरमा पानी झरेको छ । लकडाउन हुनुभन्दा अगाडि सम्म खानेपानी मर्मत गर्न त परको कुरा खानेपानीको मुहानसम्म जान पनि कसैलाई फुर्सद थिएन तर यो लकडाउनको बेलामा मानिसहरु दैनिक रुपमा कोदालो, पिक, गल, रेञ्ची लगायतका आवश्यक सामाग्री लिएर विग्रिएको पाइपलाइन उतार्ने र मर्मत गर्ने कार्यमा आफैं तल्लिन भए र सफल पनि भए । अहिले गाउँका घर घरमा पानी पुगेको छ । अहिले पानीको समस्या टरेको छ । यो सबै लकडाउनकै देन हो ।

बैरेनीबाट कालिदह हुँदै च्याडुखोलाको केही माथि रहेको ठुलो खोला भन्ने ठाउँबाट केही बर्ष अगाडि कादिलह बैरेनी खानेपानी आयोजना निर्माण भएको हो । आयोजना निर्माण भएर पनि विभिन्न कारणले गर्दा पानी सञ्चालनमा समस्या देखियो । यस विचमा पनि पानी सञ्चालन गर्न धेरै कोशिस गरिए तर समस्या समाधान भएन । बैरेनी क्षेत्रका स्थानीयले यसको विकल्प खोजी गर्न थाले । गाउँमा रहेका ४०÷४५ घर उपभोक्ताहरु मध्ये नजिकको पानीका श्रोत खोजी गरी सिमित घर मिलेर बैकल्पिक व्यवस्था पनि शुरु भयो । कतै अस्थायी रुपमा पाइप विच्छ्याएर आलोपालोसँग पानी भर्ने व्यवस्था गरियो भने गाउँ नजिकै रहेको निउरे धाराको पानी मोटरले तानेर केही घरले प्रयोग गर्ने विकल्प पनि अपनाइयो । यतिमात्र होइन सिद्धलेक गाउँपालिका वडा नम्वर ५ को इस्लाङ (बैरेनी पारीको बस्ती) नजिकैबाट पानी ल्याएर पनि केही घरले प्रयोग गर्न शुरु गरे । तर यतिले मात्र सबै उपभोक्तको आवश्यकता पुरा हुने अवस्था थिएन ।

अन्तत खानेपानी आयोजनाको लागि धेरै रकम खर्च भएको र सम्पुर्ण गाउँकै आवश्यता पुरा गर्न सक्ने सोही ठुलो खोला खानेपानी आयोजना मर्मत गरी गाउँमा खानेपानी ल्याउने विषयमा गाउँबासीको सरसल्लाह भयो । अघिपछि यत्रतत्र आ आफ्नो कामकाजमा लाग्ने मानिसहरु अहिले लकडाउनको समयमा घर घरमा आएको समयमा खानेपानी मर्मत गर्ने कुरा भयो । यो अवस्थालाई उपयोग गर्न गाउँबासी तयार पनि भए । यस अवस्थामा यस कामलाई अत्यावश्यक कामको रुपमा लिएर सामाजिक दुरी कायम राख्दै, व्यक्तिगत सुरक्षाका उपायहरु अपनाउँदै खानेपानी मर्मतको काम शुरु भयो र धेरै दिन लगाएर काम पनि सम्पन्न भयो । उपभोक्ता समितिका अनुसार खानेपानी मर्मतको काममा उपभोक्ताहरुको सक्रियत साथ र सहयोग रह्यो । काम मात्र सम्पन्न भएन कि घर घरमा पानी समेत पुग्यो । लकडाउनको यो अवस्था आएको थिएन भने सायदै यो खानेपानी मर्मतले यति छिटो सार्थकता पाउँदैन थियो होला । यसलाई गाउँबासीले अवसरको रुपमा लिएका छन् ।

यो त एउटा उदाहरण मात्र हो । हाम्रा समुदायमा यस्ता धेरै गतिविधि भइरहेका छन् । र कहि कतै यस्ता ठाउँ पनि छन कि उचित समय र अवसरको अभावका कारण काम हुन पाएका छैनन । कतै त यस्तो पनि अवस्था छ कि थोरै परिश्रमबाट काम पुरा हुने खालको अवस्था पनि छ । तर त्यस्ता विषयमा मानिसको ध्यान गएको छैन । यस्ता विषयमा हामीले समुदायको सहयोग लिएर केही काम गर्न सक्यौ भने यसले दिर्घकालिन रुपमा सकारात्मक प्रभाव पार्नसक्छ भन्ने विषयमा सोच्नु आवश्यक छ । यसकारण हामीले लकडाउनमा केही गर्नै हुँदैन, केही गर्नै सकिँदैन भन्ने खालको सोच पनि राख्न हुँदैन । तर यसो भन्दैमा लकडाउनो पालना नगर्ने भन्ने चाँही पक्कै होइन । अत्यावश्यक काम गर्न सकिन्छ तर सावधानी अपनाएर मात्र । यस्तै सावधानी अपनाएर विकासका काम पनि गर्न सकिन्छ भन्ने नै हो । यसबाट फाइदा पनि हुन्छ ।

अहिले हामी लकडाउनमा बसेको पनि ७१ दिनभन्दा धेरै भइसक्यो । अझै कहिलेसम्म लकडाउनमा रहनुपर्ने हो यकिन छैन । सरकारले कोरोना रोग अर्थात कोभिड १९ को संक्रमणबाट जोगिन भन्दै चैत्र ११ गतेबाट नेपालमा लकडाउन शुरु ग¥यो र पटक पटक समय थप गर्दै जेष्ठ ३२ गतेसम्म लकडाउन जारी गर्ने जनाएको छ । नेपालमा मात्र होइन, धेरै देशहरुले कोरोना संक्रमण फैलन नदिन भन्दै लकडाउन गरेका छन् र औषधि समेत नभएको यस रोगको संक्रमण हुन नदिने अचुक उपाय नै लकडाउन भएको समेत भनिएको छ । तर लकडाउन कहिलेसम्म जारी रहने हो भन्ने सबैमा प्रश्न उब्जिएको पक्कै छ । अहले मानिसहरुले भन्ने गरेको सुनिन्छ कि, लकडाउन छ, खायो बस्यो, काम छैन’ तर विचार गर्ने हो भने लकडाउनको यो समय हाम्रो लागि अवसरको रुपमा आउन सक्छ । हामीले समयको सही ढंगबाट सदुपयोग गर्ने हो भने पक्कै यो हाम्रो लागि अवसर नै हो ।

फेरी अर्को कुरा के छ भने लकडाउन भन्ने वित्तिकै मानिसहरु घरमा सुरक्षित रुपमा रमाउँदै बस्ने भन्ने नै हो । शहरबजारमा टेलिभिजन हेर्ने, फोन, इन्टरनेट प्रयोग गरेर लकडाउनलाई सजिलैसँग उपयोग गर्न अलि सजिलो भएपनि गाउँघरतिर भने यस्तो हुँदैन । गाउँघरमा सबैघरमा टेलिभिजन छैन, फोन, इन्टरनेटको सुविधा पुगेको छैन । त्यसमाथि समय र सिजन अनुसारका कृषि पनि गर्नै पर्ने अवस्था छ । सरकारले पनि सामाजिक दुरी कायम राख्दै कृषि कर्म गर्न सकिने र गर्नुपर्ने भन्दै आएको छ । सरकारले नभने पनि गाउँघरमा आफुलाई सुरक्षित राख्दै खेतीपातिको कामलाई निरन्तरता दिँदै गरेको पनि देखिएको छ । फलस्वरुप अहिले गाउँघरतिर मानिसहरु खेतबारीमा व्यस्त रहेका देख्न सकिन्छ । अहिले धेरै ठाउँमा बर्षौदेखि बाँझो रहेको जमिन खनजोत गरी तरकारी फलफुल लगाएको भन्ने खवर पनि सुन्ने गरिएको छ । यस्ता सबै गतिविधिलाई अवसरको रुपमा लिन सक्नुपर्छ ।

अहिले लकडाउनको यो समयमा घरमा सबै जना जम्मा भएर बसेको अवस्था छ । विद्यार्थीहरु स्कुल जान पाएका छैनन, रोजगारी गर्नेहरु काममा जान पाएका छैनन् । यस्तो अवस्थामा केही न केही गर्ने सिक्ने काम गर्नुपर्छ जसले गर्दा विद्यार्थीका लागि व्यवहारिक ज्ञान समेत हासिल हुने अवस्था आउछ । फेरी घरका सबै सदस्य मिलेर काम गर्दा काम गर्नकै लागि ज्यालामा मानिसहरु खोज्नुपनि परेन, काम पनि राम्रोसँग पुरा हुन्छ । परिवारका सबै सदस्य जम्मा हुन चाडपर्व आउनुपर्ने अवस्था थियो भने अहिले त २ महिनादेखि परिवारका सबै जना एकै ठाउँमा बस्दै आएको अवस्था छ । त्यतिमात्र होइन, अघिपछि हामी सबै आ–आफ्नै काममा व्यस्त हुन्छौं, परिवारका सदस्य आपसमा मिलेर काम गर्न अवस्था नआउन सक्छ । गाउँमा सबैजना सँगै जम्मा भएर विकासका काम गर्ने अवस्था नआउन सक्छ । लकडाउन भन्ने वित्तिकै केही गर्नै नहुने, कही जानै नहुने भन्ने होइन । आवश्यक काममा जानसकिन्छ र जानुपर्छ पनि तर सावधानी भने अपनाउनुपर्छ । नियमित कामहरु, सामाजिक गतिविधिहरु, विकास निर्माणका कामहरु पनि गर्न सकिन्छ । कतिपय ठाउँमा यस्ता कामहरु नियमित रुपमा भइरहेका नै छन् । यसकारण अहिलेको यस्तो अवस्थाको सही सदुपयोग गर्दै लकडाउनको अवस्थालाई एउटा अवसरको रुपमा लिन सक्नुपर्छ ।

  • सिद्धलेक- १ नलाङ, धादिङ