श्रीरामको उपचारमा सहयोग गरिदिन परिवारको याचना

3049 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

थांक्रे- दुर्घटनामा परि टाउकोमा गम्भिर चोट लागेपछि गएको ६ महिना देखि अस्पतालमा भर्ना गरेर उपचार गराईरहेका धादिङ थांक्रेका एक युवाका लागि उपचारमा सहयोग गरिदिन उनको परिवारले याचना गरेको छ ।

गत बर्षको कात्तिक ११ गते काठमाण्डौंको नैकापमा मोटरसाईलकले ठक्कर दिएर घाईते भएका थांक्रे गाउँपालिका वडा नम्बर ३ बगैंचाका ३३ बर्षिय श्रीराम अर्यालको अहिले ललितपुर ग्वार्को स्थित अर्थोप्लास रेहाव सेन्टरमा उपचार भईरहेको छ । अर्याललाई बा ९१ प ६९९१ नम्बरको मोटरसाईकलले ठक्कर दिएको थियो । अर्याललाई ठक्कर दिने मोटरसाईकल हुम्ला जिल्ला घर भएका नयन मल्लले चलाएका थिए ।

अर्याललाई पुस ८ गतेबाट अर्थोप्लासमा भर्ना गरिएको हो । त्यस अघि उनको उपचार राष्ट्रिय ट्रमा सेन्टरमा गरिएको थियो । तीन महिना सम्म मोटरसाईकल धनी मल्लले घाईते अर्यालको उपचारमा सहयोग गरेको भएपनि लकडाउन पछि मल्लले खर्च दिन नसक्दा घाईतेका परिवारका सदस्यलाई खर्च जुटाउन समस्या परेको हो ।

श्रीरामको उपचारका लागि अहिले दैनिक २५ सय खर्च लाग्ने गरेको र अहिले सम्ममा १५ लाख भदा बढी खर्च भईसकेको विरामीका भाई गणेश अर्यालले वताए । खर्च भएको मध्ये चार लाख अर्याल परिवारले जुटाएका हुन भने बाँकी रकम मोटरसाईकल धनी मल्लले तिरेका हुन । लकडाउन शुरु भएपछि मल्लसंग भेटघाट हुन नसकेको र पछिल्लो समय मोवाईल पनि उठाउन छाडेको अर्याल परिवारको गुनासो छ । मल्लले प्रयोग गरेको मोवाईलमा धादिङ न्यूजले पटक पटक सम्पर्क राख्दा कल रिसिभ नभएकोले उनी संग कुनै प्रतिकृया लिन सकिएन ।

टाउकोमा लागेको चोटका कारण अर्याल बोल्न नसक्ने भएका छन् । कुनै हाउभाउ समेत नदेखाउने र नजिकै पुगेको मान्छेलाई एकोहोरो हेरिरहने गर्दछन् । निम्न आर्थिक अवस्थाका अर्याल परिवारलाई श्रीरामको दुर्घटनाले निकै ठूलो चोट दिएको छ । खर्चको अभाव हुंदै जांदा दाजुभाइ, आफन्त, छरछिमेक सबैबाट ऋण सरसापटी लिएर खर्च जुटाईरहेको अर्याल परिवारलाई श्रीरामको स्वास्थ्यमा सुधार आईदिए हुन्थ्यो भन्ने चाहना छ । लकडाउनको कारण रकम जुटाउन झनै समस्या हुँदै गएकाले सहयोग गरिदिन मनकारीहरुलाई अर्याल परिवारले याचना गरेको छ ।