‘प्रत्येक पालिकमा एउटा आयुर्वेद औषधालय हुनुपर्छ’

2197 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङका प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा आयुर्वेद औषधालय स्थापना गर्न सरोकारवालाहरुले सुझाव दिएका छन् ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङले विहीवार धादिङबेसीमा आयोजना गरेको जनप्रतिनिधि तथा पत्रकारहरुलाई आयुर्वेद सेवा सम्वन्धि अभिमुखीकरण कार्यक्रमका सहभागीहरुले एक पालिका एक आयुर्वेद स्वास्थ्य केन्द्र स्थापनाका हुनुपर्ने वताएका हुन ।

केन्द्रका प्रमुख डाक्टर सुईरा जोशीको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा नेत्रावती डवजोङ गाउँपालिकाका प्रमुख दुर्गकुमार शाक्यको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उपप्रमुख मनराज भण्डारी,स्वास्थ्य कार्यालय धादिङका प्रमुख डाक्टर भुवन पौडेल लगायतको आतिथ्य रहेको थियो ।

नेपालको राष्ट्रिय पहिचानका रूपमा रहेको आयुर्वेद चिकित्सालाई समयानुकुल विकास गर्दै लैजान संघ, प्रदेश र स्थानीय तहसम्मले बिशेष पहल गर्नुपर्ने कार्यक्रमका प्रमुख अतिथि शाक्यले वताउनु भयो । आयुर्वेद स्वास्थ्य सेवा मानव जिवनका लागि अति उपयोगी भएको शाक्यले वताउनु भएको थियो । जिल्लाका सबै स्थानीय तहमा कम्तिमा एउटा भौतिक पूर्वाधार सम्पन्न आयुर्वेद औषधालय स्थापनाका लागि स्थानीय तहले अग्रसरता देखाउनुपर्ने शाक्यको भनाई थियो ।

वैदिककालभन्दा पहिले शुरू भएको आयुर्वेद विश्वकै सबैभन्दा पुरानो चिकित्सा प्रणाली भएकाले आयुर्वेद सेवालाई नेपालको मौलिक राष्ट्रिय चिकित्सा प्रणालीका रुपमा मानिएको स्वास्थ्य कार्यालय धादिङका प्रमुख डाक्टर पौडेलले वताउनु भयो ।

आयुर्वेद नेपालको मौलिक एवं प्राचीन चिकित्सा पद्धति भएको र नसर्ने रोग न्यूनीकरणका लागि आयुर्वेद स्वस्थ्य सेवा अत्यन्तै प्रभावकारी रहेकाले जनप्रतिनिधि र पत्रकारले अझै शशक्त भएर आयुर्वेद सेवाका बिषयमा समुदायलाई जागरुक बनाईदिन सहयोग गरिदिन जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर थापाले अनुरोध गर्नुभएको थियो ।

कार्यक्रममा योग तथा ध्यान कार्यक्रम आयुर्वेदप्रदत्त अन्य स्वास्थ्य उपचार सेवा विधिहरूको संरक्षण लगायतका बिषयमा छलफल गरिएको थियो ।

धादिङमा अलिे सदरमुकाम धादिङबेसीमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, रुवीभ्यालीको वोराङ,नीलकण्ठ नगरपालिकाको ज्यामरुङ,गजुरी गाउँपालिकाको गजुरी र गल्छी गाउँपालिकाको पाल्चोकमा एक एक वटा गरि चार वटा आयुर्वेद औषधालय, नेत्रावती डवजोङ गाउँपालिकामा गाउँघर क्लिनीक सञ्चालनमा रहेको छ ।