हट्यो लकडाउन

1439 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले साढे तीन महिनादेखि घोषणा गरेको लकडाउन अन्त्य गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पछिल्लो समय लकडाउन बहानाबाजी बन्दै गएको र यसले सर्वसाधारणको जनजीवन कष्टकर भएको महसुस गर्दै जनजीवन सामान्य बनाउन लकडाउन अन्त्य गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले मंगलबार राति १२ बजेबाट देशव्यापी रूपमा जारी हुँदै आएको लकडाउनको अवस्था अन्त्य भएको जानकारी दिएका छन् ।

मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्दै प्रवक्ता डा. खतिवडाले  लकडाउन अन्त्य गरिए पनि जोखिम भने कायमै रहेको  बताएका छन् ।स्वास्थ्य सुरक्षाको जोखिम तथा संक्रमणको जोखिम भने कायमै रहेको भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउने, सामाजिक दुरी कायम राख्ने र स्यानिटाइज्ड गर्ने काम जारी राख्नुपर्ने उनको भनाइ छ ।

सरकारले सार्वजनिक र निजी सवारी साधनमा लगाइएको जोर बिजोर प्रणालीको अन्त्यसमेत गरेको छ । यसअघि, सरकारले आंशिक रूपमा लकडाउन खुकुलो बनाउँदै सरकारी कार्यालयमा लागु गरिएका दुई सिफ्टमा काम गर्ने प्रणाली पनि अन्त्य गरेको छ ।

सरकारले यसअघि नै काठमाडौं उपत्यकाभित्र तीन जिल्ला र बाहिरी जिल्लामा सम्बन्धित जिल्लाभित्र सीमित हुने गरी सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएकामा अब लामो दुरीको यातायात खुलाउने निर्णयसमेत गरेको छ । सरकारका प्रवक्ता खतिवडाका अनुसार १ भदौदेखि लामो दुरीको यातायात सञ्चालन गर्न पाइने भएको छ ।

मन्त्रिपरिषद् बैठकले १५ साउनदेखि होटल र रेस्टुरेस्ट खोल्न अनुमति दिएको छ । तर, पार्टी, समारोह गर्न भने नपाइने जनाएको छ । यस्तै, १५ साउदेखि ट्राभल, पर्वतारोहण पनि खुला गरेको छ ।

सरकारले अन्तर्राष्ट्रिय खेलकुदका प्रशिक्षण र प्रारम्भिक खेल समेत सञ्चालन गर्न अनुमति दिएको छ । मन्त्रिपरिषद् बैठकले १ भदौबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान सुचारु गर्ने निर्णयसमेत गरेको छ । अन्तर्राष्ट्रिय सीमा भने ३२ साउनसम्म बन्द गर्ने सरकारले निर्णय गरेको छ । मन्त्रिपरिषद्ले नेपाल प्रवेश बिन्दु र खुला सीमाको आवागमन ३२ साउनको मध्यरातसम्मका लागि यथावत् राख्ने निर्णय गरेको हो ।

यसअघि अन्तर्राष्ट्रिय नाकाबाट ६ साउनको मध्यरातसम्म प्रवेशमा रोक लगाइएको थियो । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि पहिलोपटक ११ देखि १८ चैतसम्म लकडाउन गरेको थियो । त्यसपछि फेरि दोस्रोपटक एक साता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो । त्यसलाई निरन्तरता दिँदै ३ वैशाख, १५ वैशाख र २५ वैशाखसम्म लकडाउन गरिएको थियो ।

देशका विभिन्न भागमा कोरोना संक्रमण बढ्दै गएपछि सरकारले लकडाउनलाई निरन्तरता दिँदै ५ जेठसम्म पु¥याएको थियो भने त्यसपछि थप गर्दै २० जेठ र पछिल्लो पटक थप गर्दै ३२ जेठसम्म लकडाउन अवधि थपेको थियो । त्यसयता भने सरकारले क्रमशः लकडाउन खुकुलो बनाउँदै आएको थियो ।

  • राजधानी दैनिकबाट