गर्मि बढ्दै जांदा धादिङका अस्पताल विरामीको चाप बढ्यो

568 पटक पढिएको

सम्पादक: Dhadingnews.com

केशव अधिकारी
धादिङ/ गर्मि बढ्दै जांदा धादिङका अस्पताल र स्थानीय स्वास्थ्य संस्थाहरुमा विरामीको चाप बढ्न थालेको छ । बढ्दो गर्मिका कारण अस्पतालमा ज्वरो,रुघाखोकी,टाईफाइड,झाडा,पखालाका कारण विरामी भएकाहरुको संख्या बढ्न थालेको स्वास्थ्यकर्मीहरु वताउंछन । सदरमुकाम धादिङबेसीमा रहेको जिल्ला अस्पतालमा दैनिक एक सय भन्दा २० बढी विरामी उपचारका लागि भर्ना हुने गरेको अस्पतालका सिनियर स्वास्थ्य सहायक गोपीवहादुर श्रेष्ठ बताउनुहुन्छ । विरामीको संख्या बढ्दै जांदा अस्पतालको बेडमा विरामी राख्ने ठाउं नभएपछि सघन उपचार कक्ष,आकस्मिक कक्ष, अस्पतालका पेटीमा समेत राखेर विरामीको उपचार गर्ने गरिएको श्रेष्ठले वताउनुभयो । SAM_1202
सदरमुकाममा रहेको जिल्ला अस्पतालका साथै जिल्लाका विभिन्न स्थानमा रहेका स्वास्थ्य संस्थाहरुमा विरामीको संख्या निकै रहेको स्वास्थ्यकर्मीहरुको भनाई छ । अरु बेलामा भन्दा बर्षायाममा  प्रदुषित खानेपानी, वदलिंदो मौसम आदीका कारण विरामीपर्नेहरुको संख्यामा बृद्धि हुने गरेको बैरेनी स्वस्थ्य चौकीका अहेव शम्भु खतिवडा बताउनुहुन्छ । आर्थिक बर्षको शुरुवातमै विरामीको संख्या धेरै हुने गर्दा सरकारी स्वास्थ्य संस्थाले बर्षभरी निःशुल्क बितरण गर्ने औषधिहरु सबैलाई पु¥याउन समस्या हुने गरेको स्वास्थ्यकर्मीहरुको गुनासो छ । सरकारले ३५ प्रकारका औषधि निःशुल्क पाइने भनेपनि विरामीको चाप बढेको वेला ति औषधि वितरण गरिंदा बर्षभरीलाई नपुग्ने गरेको स्वास्थ्यकर्मीहरु बताउंछन ।
स्थानीय स्वास्थ्य संस्थाले माग गरेको आधारमा जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य विभागसंग औषधि माग गरी गाउंमा रहेका स्वास्थ्य संस्थामा वितरण गर्ने गरेको भएपनि बर्षभरीलाई औषधि नपुग्ने गरेको मुरलीभञ्ज्याङ स्वास्थ्य चौकीका प्रमुख कृष्ण पौडेलले वताउनुभयो । यो बर्ष धादिङ जिल्लाका नौ वटा उपस्वास्थ्य चौकी स्तरउन्नती भई स्वास्थ्य चौकी बदलिएकाले ति सबै संस्थामा सेवा सुविधा विस्तार र स्तरसुधारका लागि जिल्ला स्वाास्थ्य कार्यालयले पहल गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय धादिङका बरिष्ठ जनस्वास्थ्य प्रशासक मोहम्मद दाउदले वताउनुभयो ।    त्यसो त   जिल्लामा अस्पताल तथा स्वास्थ्य संस्थाको संख्या संगै बर्षेनी विरामीको संख्यामा बढ्ने गरेको छ ।  जिल्ला अस्पताल धादिङमा मात्र तीन बर्षमा एक लाख ३० हजार ५ सय ९६ जना विरामीको उपचार भएको छ । अस्पतालले आर्थिक बर्ष ०६७÷६८ मा ४१ हजार ३ सय ६१ जना,आर्थिक बर्ष ०६८÷६९ मा ४५ हजार ४ सय ५६ र पछिल्लो आर्थिक बर्षमा ४३ हजार ७ सय ७९ जना विरामीको उपचार गरेको अस्पतालले जनाएको छ ।
धादिङ जिल्लामा अहिले जिल्ला अस्पताल एक,प्राथमिक स्वास्थ्य केन्द्र २,स्वास्थ्य चौकी ३३,उपस्वास्थ्य चौकी १६ र निजी क्षेत्रका आठ वटा अस्पताल र दुई वटा पोली क्लिनीक संचालनमा रहेको छ ।