रुवीभ्यालीमा २५.४ मेगावाटको सुपर आँखुखोला जलविद्युत आयोजना बन्दै

1944 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

लुकेको कर्णाली भनेर चर्चामा आउने गरेको धादिङको विकट उत्तरी भेगमा विकासका लहर प्रवेश गर्न थालेको छ । सडक सञ्जालले नछोएको दुरदराजका बस्तीलाई लक्षित गरेर सडक विस्तार भईरहेको छ भने रुवीभ्यालीको आँखुखोलाबाट २५.४ मेगावट विजुली उत्पादनका लागि लगानीकर्ता जुटेका छन् ।

गोरक्ष हाइड्रोपावर प्रालिले निर्माण गर्न लागेको २५.४ मेगावाट क्षमताको सुपर आँखुखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन गर्न लगानीकर्ता जुटेका हुन ।
आयोजना सम्पन्न गर्न लाग्ने कुल लागत ४ अर्ब ५६ करोडको ७५ प्रतिशत अर्थात ३ अर्ब ४२ करोड ऋण लगानी गर्न प्रभु बैंक लि.को नेतृत्वमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकले कम्पनीसँग ऋण लगानी सम्झौता गरेको छ ।

गोरक्ष हाइड्रोपावर प्रालिले निर्माण कार्य अघि बढाईरहेको आयोजना डिसेम्बर २०२३ अर्थात पौष २०८० भित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ । आयोजना सम्पन्न भएपछि सुख्खायाममा ४१.६३ गिगावाट आवर र वर्षायाममा ९९.६३ गिगावाट आवर गरी कुल वार्षिक १३८.२६ गिगावाट आवर विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ । उत्पादित विजुली बिक्रीका लागि कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग टेक अर पे आधारमा विद्युत खरिद बिक्री सम्झौता पीपीए समेत गरिसकेको छ ।

आयोजनाका लागि प्रभु बैंकले १ अर्ब ८२ करोड, कर्मचारी सञ्चय कोषले ८५ करोड र कृषि विकास बैंकबाट ७५ करोड ऋण लगानी गर्ने गरी सम्झौता भएको छ । कुल लागतको २५ प्रतिशत १ अर्ब १४ करोड कम्पनीले संस्थापक र सर्वसाधारणबाट पुँजीमार्फत जुटाउने भएको छ ।

हाइड्रोपावरमा जर्मनी र अमेरिकालगायत प्रवासमा रहेका नेपालीको समेत लगानी रहने छ । मुख्यगरी ओभरसिज नेपलिज इन्भेष्टमेन्ट कम्पनी लिमिटेड यो आयोजनाको प्रवद्र्धकमा रहेको छ । ओभरसिज नेपलिज इन्भेष्टमेन्ट कम्पनी संयुक्त अरब इमिरेट्स(यूएई)मा रहेका नेपालीको लगानीमा स्थापना गरिएको व्यवसायिक संस्था हो ।