जनप्रतिनिधिलाई धम्क्याएको आरोपमा ‘राधे’ पक्राउ

1666 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, २३ असोज – जनप्रतिनिधिलाई धम्की दिएको आरोपमा  नेपाल तरुण दल धादिङका उपाध्यक्ष समेत रहेका राधाकृष्ण भण्डारी (राधे) लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धादिङको सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई ज्यान मार्ने धम्की दिएको आरोप लागेपछि अनुसन्धानका लागि राधेलाई बिहीबार नियन्त्रणमा लिएको धादिङका प्रहरी प्रमुख एसपी महेन्द्र खड्काले जानकारी दिनुभयो ।

आंफु बिरुद्ध सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिले दिएको उजुरीका बिषयमा बुझ्न  राधेलाई विहीवार प्रहरीले नियन्त्रणमा लिएको हो । गत आर्थिक बर्षका लागि अरुको फर्म प्रयोग गरेर सिद्धलेक गाउँपालिकाको विभिन्न स्थानमा बालुवा निकाल्ने ठेक्का लिएका भण्डारीले ठेक्का सम्झौता अवधि सकिएपछि पनि बालुवा निकालेपछि जनप्रतिनिधिले सो कार्य रोक्न अनुरोध गर्दा जनप्रतिनिधिलाई सिध्याईदिने धम्की दिएको भन्दै प्रहरी कहाँ उजुरी परेको बताईएको छ ।

गाउँपालिकाका प्रतिनिधिले जिल्ला प्रशासन कार्यालय, धादिङमा उजुरी दिएपछि भण्डारीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । भण्डारी नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्ष समेत हुन् । गएको बैशाख १४ गते राती सिद्धलेक गाउँपालिकाको बुङचुङबाट पक्राउ परेका भण्डारी राजनैतिक दवावमा छुटेका थिए । गत बर्षको जेठमा धादिङको मलेखुवाट पनि उनि हतियारसहित पक्राउ परेका थिए ।
प्रहरीका अनुसार भण्डारीमाथी अर्काको नाममा ठेक्का संचालन गरि, ठेक्कापट्टाको म्याद समाप्त भएपछि पनी गाँउपालिका क्षेत्रबाट अवैध तरिकाले बालुवा निकालेको र जनप्रतिनिधिलाई धम्की दिएको आरोप लागेको छ ।

धादिङबाट काठमाण्डौंबाट फर्कंदै गरेको बेला दिनेश अधिकारी ‘चरी’ लाई २०७० असार २१ गते काठमाण्डौंको सतुंगलमा गोली हानेपछि भण्डारी चर्चामा अएका थिए । उनी त्यतिबेला पनि राजनीतिक दबाबका आधारमा धरौटीमा रिहा भएका थिए । कुनै बेला राधे र दिनेश अधिकारी ‘चरी’ एउटै समूहमा रहेका थिए पक्राउ परेका भण्डारीविरुद्ध शुक्रवार सार्वजनिक शान्ति भंगविरुद्ध मुद्दा दर्ताको गरिने एसपी खड्काले जानकारी दिनुभयो ।