‘आसपाल्ड’ प्रविधिबाट सदरमुकाम भित्र कालोपत्रे शुरु

1421 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ : धादिङको सदरमुकाम धादिङबेसीको बजार क्षेत्रभित्रको सडकमा कालोपत्रे शुरु भएको छ। डिभिजन सडक कार्यालय भरतपुर चितवनको वार्षिक कार्यक्रमअन्‍तर्गत सदरमुकामभित्रको ७ किलोमिटर सडक रु ५ करोड को लागतमा कालोपत्रे गर्ने काम शुरु भएको हो।

केही वर्ष पहिले गरेको कालोपत्रे भत्कन थालेपछि सडक कार्यालयले ‘आसपाल्ड’ प्रविधिबाट सदरमुकाम भित्रको ७ किलोमिटर सडकमा कालोपत्रे शुरु गरेको हो।

डिभिजन सडक कार्यालयले एक वर्षअघि नै सदरमुकामको सडक कालोपत्रे गर्ने तयारी गरेको भए पनि नगरपालिकाले सडकमा पक्की नाला र पैदलयात्रुका लागि फुटपाथ निर्माण कार्य समयमै नगरिदिँदा कालोपत्रे गर्ने काम एक वर्ष ढिला हुन पुगेको सडक विभागका साइट इन्चार्ज अर्जुन सापकोटाले बताए।

साइट इन्चार्ज सापकोटाका अनुसार यो वर्षको कार्यक्रमअन्‍तर्गत सदरमुकाममा जिल्लाको सरकारी कार्यालय रहेको क्षेत्र लगायत अन्य सडकमा कालोपत्रे गरिने भएको हो।

‘आसपाल्ड’ प्रविधिबाट पिच गर्दा सडकमा पेभर मेशिनबाट विटुमिन र चिप्स मिसाएर बनाइएको मसला खसाल्नुपर्ने भएकाले पेभर मेशिन छिर्न नसक्ने ठाउँबाहेक बजारका मुख्य सडक र सहायक सडकमा कालोपत्रे हुन लागेको हो।

बजारको सिरानबजारदेखि पुछारबजार पुल्चोकसम्मको मुख्य सडकका साथै बिचवजारदेखि त्रिवेणी चोक हुँदै अस्पतालचोक सम्म, बीचबजारबाट मिलनटोल हुँदै पहरेचौतारा,शान्तबजारबाट प्रगतिटोल हुँदै अरुणखोला पुल,एमालेचोकबाट गणेशमन्दिर हुंदै शान्तबजारचोक, पेट्रोलपम्पबाट बसपार्क हुँदै एमालेचोकसम्मको सडकमा कालोपत्रे गरिन लागेको हो। मुख्य सडकमा ८ मिटर र सहायक सडकमा ५ मिटर कालोपत्रे गरिनेछ। निर्माण कार्यको ठेक्का चितवनको शिवशक्ति कन्ट्रक्शनले गरिरहेको छ।