नीलकण्ठ क्याम्पसको अध्यक्षमा शम्भुकुमार श्रेष्ठ चयन

948 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङबेसी । धादिङ जिल्लाको पहिलो सामुदायिक क्याम्पस निलकण्ठ बहुमुखी क्याम्पस धादिङबेशीको सञ्चालक समिति अध्यक्षमा शम्भुुकुमार श्रेष्ठ चयन भएका छन । मंसिर १३ गते शनिवार धादिङबेसीमा सम्पन्न नीलकण्ठ क्याम्पसको दोश्रो क्याम्पस सभाले आगामी चार बर्षको लागि श्रेष्ठलाई सर्बसम्मतबाट अध्यक्षमा चयन गरेको हो । श्रेष्ठ नीलकण्ठ मावि धादिङबेसीको पूर्व प्रधानाध्यापक एवम क्याम्पस संचालक समितिका सदस्य समेत हुन ।

समितिको सदस्यहरुमा रामनाथ अधिकारी, भिमप्रसाद ढुंगाना,रमेश धमला, बेदवहादुर खाँण, ध्रुववहादुर थापा, डाक्टर सूर्यप्रसाद अधिकारी होमनाथ रिजाल प्रकाश पौडेल, भुपेन्द्रकुमार श्रेष्ठ, सरोज पाण्डे, बद्रिप्रसाद दहाल र सदस्य सचिवमा नवराज शर्मा रहेका छन ।

 क्याम्पस संचालक समितिको बैठकले क्याम्पस प्रमुखमा नवराज शर्मालाई निरन्तरता दिने निर्णय गर्दै दोश्रो कार्यकालको लागि नियुक्ति दिएको छ ।

सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ क्याम्पस २०५७ सालमा स्थापना भएको हो । जिल्लाकै पहिलो सामुदायिक क्याम्पसको रुपमा रहेको नीलकण्ठ क्याम्पसले यसै बर्ष गुणस्तरीय सुनिश्चितता प्रत्यायान ( क्वालिटि असुरेन्स एण्ड एक्रेडिटेशन क्यूएए) प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ ।

विश्व विद्यालय अनुदान आयोगबाट सञ्चालित उच्च शिक्षाको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रणालीमा आबद्ध भई कलेजले संस्थागत मूल्यांकनका सबै चरण पूरा गरेपछि क्यूएए प्रमाणपत्र पाउने गर्दछ । एक पटक प्राप्त भएको क्यूएए प्रमाणपत्र पाँच वर्षका लागि मान्य हुन्छ । क्युएए प्राप्त भएपछि क्याम्पसका तर्फबाट वर्षेनी एकेडेमिक अडिट पेश गर्नुपर्ने नियम  छ । यो प्रमाण पत्र पाउने नीलकण्ठ बहुमुखी क्याम्पस धादिङको पहिलो क्याम्पस हो । नीलकण्ठ क्याम्पसमा स्नातक र स्नातकोत्तर तहमा गरी करिब १ हजार विद्यार्थीले अध्ययन गर्दछन ।