बज्रकोटको घर घरमा स्वच्छ खानेपानी

963 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धुनिबेसी । घर घरमा धारा सहित स्वच्छ खानेपानी  बितरण गरि  तिर्खा मुक्त नगर बनाउने अभियानमा धादिङको धुनिबेसी नगरपालिका लागिपरेको छ ।


नगरपालिकालाई तिर्खा मुक्त नगर बनाउन बिशेष प्राथमिकतामा राखेर अभियानकै रुपमा कार्य गरिएको धुनिबेसी नगरपालिका प्रमुख बालकृष्ण आचार्यको दावी छ । धुनिबेसी वडा नम्बर ४ मा रहेको बज्रकोट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले शनिबार खानेपानी योजनाको तेस्रो तथा अन्तिम चरणको सार्वजनिक सुनुवाइ कार्यक्रम गरि आयोजना सम्वन्धि विस्तृत जानकारी गराएको हो ।
उपभोक्ता समितिका अध्यक्ष आनन्दकुमार गौतमको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रमको प्रमुख अतिथि धुनिबेसी नगरपालिका प्रमुख आचार्य रहनु भएको थियो । सार्वजनिक सुनुवाइमा उपस्थित स्थानीय उपभोक्ताले घरघरमा धारा सहित खानेपानी व्यवस्थापन भए पछि गाउँमा खुशीयाली छाएको बताएका थिए ।


सार्वजनिक सुनुवाईमा स्थानीय उपभोक्ताहरुको साथै नगरपालिकाको उपप्रमुख निरु खरेल ,वडा नंम्बर ४ का वडाध्यक्ष हरि सुवेदी ,प्रयास नेपाल धादिङका अध्यक्ष रेष्टन कडेल,गैरसरकारी संस्था महासंघ बागमती प्रदेश समिति अध्यक्ष एवम प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल,ईन्जिनियर चक्रपाणि जोशि लगायतको उपस्थिति रहेको थियो ।

अक्सफामको सहयोगमा प्रयास नेपाल धादिङले पुर्णिमा कार्यक्रम अन्तरगत संचालन गरेको योजनाबाट गाउँका १ सय ४ वटा घरमा धारा,कुलचन्द्र माध्यमिक बिद्यालयमा बालमैत्री धारा र १ वटा स्वास्थ्य चौकीमा गरि १ सय ६ वटा धारा मार्फत सबै घरधुरीमा स्वच्छ खानेपानी उपलब्ध गराईएको छ । प्रयास नेपाल धादिङको ६२ लाख २२ हजार १ सय ४६ रुपैया स्थानीय उपभोक्ताबाट जनश्रमदान २७ लाख २३ हजार २ सय ८४ रुपैया समेत गरि ९१ लाख ४५ हजार ४ सय ३० रुपैयाँ खर्चमा योजना सम्पन्न गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल जानकारी दिनु भयो ।