मजदुर वालवालिका पढ्ने जनजागृत्ती माविले उच्च मावि सम्वन्धन नपाउंदा बिद्यार्थी समस्यामा

779 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/ धादिङको महादेवबेसीमा रहेको जनजागृत्ती माविले उच्च माविको सम्वन्धन नपाउंदा गाउंमै उच्च शिक्षा पढ्ने रहर वोकेर बसेका धेरै बिद्यार्थीको सपना चकनाकुर भएको छ । साउन महिना सकिईसक्दा पनि बिद्यालयले उच्च माविको सम्वन्धन नपाएपछ मजदुर वालवालिकाले अध्ययन गर्दै आईरहेको यस बिद्यालयका बिद्यार्थी र अभिभावकहरु समस्यामा परेका हुन ।
पृथ्वीराजमार्गको महादेववेसी र आग्रा तथा महेशखोलमा मजदुरी गर्दै आईरहेको मजदुर परिवारका वालवालिकाले पढ्दै आईरहेको जनजागृत्ती माविले यस बर्षको प्रवेशिका परिक्षामा जिल्लाका सामुदायिक बिद्यालयहरुमा उत्कृष्ठ नतिजा ल्याउन सफल भएको थियो ।
आंफुले पढिरहेको बिद्यालयमा उच्च माविले सम्वन्धन पाएमा पढ्न पाइने आशमा रहेका मजदुर परिवारका वालवालिका यतिवेला निराश हुन पुगेका छन । खोलाको किनारमा अस्थायी छाप्रो वनाएर मजदुरी गर्दै छोरा छोरी पढाईरहेका मजदुर अभिभावकहरु आर्थिक अभावका कारण गाउंवाट वाहिर आफ्ना छोरा छोरीलाई पढ्न पठाउन असमर्थ रहेका छन ।
महादेववेसी क्षेत्रमा देशका ३५ भन्दा बढी जिल्लावाट कामको खोजीमा आएका गरीव परिवारका सदस्यहरु मजदुरी गरेर जिवन निर्वाह गरिरहेका छन ।
शिक्षा विभाग र उच्च शिक्षा परिषदले २०६९ पुसमा सार्वजनिक सूचना जारी गरेर उच्च माविको सम्वन्धनका लागि आग्रह गरेपछि आंफुहरुले सबै प्रकृया पुरा गरेर आवेदन दिएको बिद्यालय व्यवस्थापन समितिका सदस्य गोकर्ण रुपाखेती बताउनुहुन्छ । उच्च माध्यमिक शिक्षा परिषद र शिक्षा विभागको आन्तरिक विवादका कारण यो बर्ष देशैभरीका कुनै पनि बिद्यालयले उच्च माविको सम्वन्धन पाउन नसकेको रुपाखेतीले वताउनुभयो । नेपाल सरकारले सन २०१५ भित्रमा कक्षा १२ लाई माध्यमिक शिक्षाको रुपमा विकास गर्ने लक्ष्य लिएपनि सरकारी निकायकै गैर जिम्मेवारीका कारण बिद्यालय र हजारौं बिद्यार्थी समस्यामा पर्नुपरेको रुपाखेतीको भनाई छ ।
बिद्यालयले उच्च माविको सम्वन्धन नपाएपछि आक्रोशित बनेका शिक्षक,अभिभावक र बिद्यार्थीहरुले मंगलवार धादिङका जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदी र निमित्त प्रमुख जिल्ला अधिकारी विजयराज पौडेललाई भेटेर आफुहरु समस्यामा परेको भन्दै सहयोगका लागि लिखित आग्रह गरेका छन । आंफुहरुको मागको सुनवाई नभए आन्दोलनमा जान वाध्य हुने संघर्ष समितिले चेतावनी दिएको छ ।