जर्मन प्राविधिक शिक्षालयलाई ५० लाख मूल्य बराबरको विद्युतीय उपकरण प्रदान

1618 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ। ठूला जलविद्युत् आयोजनाको निर्माण, सञ्चालन र मर्मतसम्भारका लागि आवश्यक जनशक्ति तयार गर्ने उद्देश्यका साथ स्थापना गरिएको जर्मन प्राविधिक शिक्षालयलाई जर्मनीको एक संस्थाले विभिन्न उपकरणहरु प्रदान गरेको छ । जर्मनीस्थित स्टेल्वा हाइड्रो कम्पनीले धादिङको धुनिवेंशी नगरपालिका वडा नम्बर ५ मा स्थापना गरेको सो शिक्षालयलाई झण्डै रु ५० लाख मूल्य बराबरको अत्याधुनिक खालका टर्वाइन र अटोमेशन उपकरण प्रदान गरेको हो ।

शेषकान्त फाउण्डेशनद्वारा सञ्चालित सो शिक्षालयमा दक्ष प्राविधिकसम्बन्धी तालीम लिनेहरुका लागि ती उपकरणहरुबाट व्यावहारिक ज्ञान हासिल गर्न सहयोग पुग्ने सो कम्पनीका प्राविधिक निर्देशक पवन ढकालले बताउनुभयो ।  विदेशमा सिकेको ज्ञान र पूँजी स्वदेशमै लगानी गर्ने उद्देश्यले आफू कार्यरत कम्पनीमार्फत सन् २०१५ देखि नै धादिङ जिल्लामा विभिन्न शैक्षिक क्रियाकलाप सञ्चालन गर्दै आएको ढकालको भनाइ छ ।

सो शिक्षालयबाट एक व्याच(समूह) उत्तीर्ण भैसकेका छन् भने कोभिड–१९ का कारण केही ढिलाइ भएपनि आगामी वैशाखदेखि अर्को समूहको तालीम शुरु गरिने फाउण्डेशनका अध्यक्ष विशेश्वरप्रसाद ढकालले जानकारी दिए । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) को नेपालमा व्यावसायिक शिक्षा प्रवद्र्धन गर्ने अभियानअन्र्तगत नेपाल स्वतन्त्र विद्युत् उत्पादक सङ्घ(इपान)सँगको सहकार्यमा तालीम सञ्चालन गरिने ढकालले बताउनुभयो ।

जर्मनीस्थित फ्यूचर फर नेपाल नामक संस्थामार्फत सङ्कलित रकमबाट सो नगरपालिकाका विभिन्न तीन स्थानमा सौर्य खानेपानी आयोजना सम्पन्न भैसकेको सो संस्थाका निर्देशकसमेत रहेका ढकालले जानकारी दिनुभयो । ढकालका अनुसार रु चार करोड ६० लाखको लागतमा शिक्षालयमा ४० जना विद्यार्थी बस्न मिल्ने होस्टल र १८ कोठा भएको अलग्गै विद्यालय भवन निर्माण भएको छ भने नेपालमै सस्तो, किफायती र सुरक्षित प्रिफाइभ ढाँचाका घरहरु निर्माण गर्न आवश्यक उपकरण र दक्ष जनशक्ति तयार गर्न एक जर्मनी कम्पनीसँग सहकार्य गरिएको छ । यस्तै जर्मनीको युनिभर्सिटी अफ वाडेन वेटनवर्गसँग विद्यार्थी आदानप्रदान गर्नेसम्बन्धी सहमति पनि भएको छ।