प्रसिद्ध गोसाइँकुण्ड मेला सुरु

810 पटक पढिएको

सम्पादक: Dhadingnews.com

देवचन्द्र भट्ट
रसुवा /यसवर्षको प्रसिद्ध गोसाइँकुण्ड मेला सुरु भएको छ । धार्मिक एवम्ं पर्यटकीय दृष्टिले निकै महत्वपूर्णे गोसाइँकुण्डमा शनिवारदेखि यसवर्षको साताव्यापी विशेष मेला सुरू भएको हो ।
रसुवा जिल्ला स्याफ्रु गाविस वडा नं. ६ मा रहेको गोसाईकुण्डमा प्रत्येक वर्षको जनैपूर्णिमा र गंगा दशहराको अवसरमा साताव्यापी रूपमा लाग्ने मेला लाग्ने गर्दछ । जैविक विविधताको धनी गोसाईकुण्डमा वर्षेनी हजारौं स्वदेशी तथा विदेशी पर्यटकहरु आउँने गर्दछन् । कुण्डमा मुख्य मेला भने भदौ ५ गते जनैपुर्णिमाका दिन पर्दछ । तर, स्नान गर्नेहरु कुण्डमा पुगिसकेको रसुवा प्रशासनले जनाएको छ ।
मेलाको सम्पूर्ण तयारी सम्पन्न भएपछि स्नानका लागि तीर्थालुहरू नुवाकोटको विदुर हुदै रसुवाको धुन्चे पुगेर गोसाईंकुण्ड प्रवेश गर्न थालेका छन्  । गोसाईकुण्डमा एकादशीदेखि पूर्णिमासम्म नुहाउनेहरूको निकै ठुलो भीड् लाग्दछ ।
जनैपूर्णिमाको गोसाइँकुण्ड मेला भदौ १ गते शनिवार पुत्रदा एकादशीदेखि ५ गते जनैपूर्णिमासम्म पाँच दिन लाग्ने छ । समुन्द्री सतहदेखि चार हजार तीन सय ८० मिटर उचाईमा रहेको गोसाइँकुण्डको लम्बाई ६ सय मिटर छ भने चौडाई तीनसय ७० मिटर र  गहिराई १८ दशमलव ३ मिटर रहेको छ ।
गत २०६३ सालमा विश्व सम्पदा सूचि र सिमसार र क्षेत्रमा सूचिकृत गोसाँइकुण्ड लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र संरक्षित र अत्यन्त आकर्षक र मनमोहक मानिन्छ । मनले चिताएको कुरा पुग्ने भएकाले गोसाँईकुण्डमा नुहाँउन यसवर्ष पासाङल्हामु मार्गको त्रिशूली–धुन्चे सडकवीचमा गएको पहिरो र वर्षात्का कारण तीर्थालुहरु केहि कमि हुने भएको छ ।
गोसाईकुण्डको पदमार्गमा सुझाव पेटिका राख्ने, स्वास्थ्यको समस्या आएमा घुम्ती सिविर स्वास्थ्य टोली खटाइएको मेला व्यवस्थापन समितिले जनाएको छ । भगवान् शंकरको वासस्थानको रूपमा हिमालयको काखमा रहेको यस गोसाइँकुण्डमा स्नान गर्नाले गरेका पापबाट मुक्ति मिल्ने तथा मनले चिताएको पूरा हुने जनविश्वास रहेकोले वर्षेनी भक्तजनहरूको आगमन बढ्ने गरेको रसुवाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी पदनुभयो ।
गोसाँइकुण्डमा हिमाली प्राकृतिक सौन्दर्यका दृश्यहरू निकै पाइन्छन् । पैदल यात्राका सौखिन र धर्ममा आस्था राख्नेहरू आन्तरिक तथा बाहिरी पर्यटकको संख्या बर्षेनी बढिरहेको विभिन्न तथ्याङ्कले बताएको छ । प्राकृतिक सुन्दरतामा रमाउने र धार्मिक आस्था राख्नेहरूका लागि प्रकृतिको अनुपम देन नै मान्नु पर्छ ऐतिहासिक धार्मिक एवम्ं पर्यटकीय गन्तव्य गोसाइँकुण्डलाई ।
घट्टेखोला, देउराली, चन्दनवारी स्थित सिङ्गोम्पाको बिशाल बुद्धको मूर्ति, दिम्सा, चोलाङपाटी, लौरी बिनायक जस्ता मनोरम दृश्यहरू देखिने स्थानहरू सो मार्गमा पर्दछन् । काठमाडौंबाट नुवाकोटको त्रिशूली र पृथ्वी राजमार्गको गल्छी–देवीघाट विदुर हुँदै रसुवाको सदरमुकाम धुन्चेसम्मको बसको यात्रापछि करिव  आठ घण्टाको पैदल यात्रा गरेर गोसाईंकुण्ड पुग्न सकिन्छ ।
गोसाइँकुण्ड सत्ययुगमा समुन्द्र मन्थनबाट उत्पन्न भएको कालकुट विषले संसार भष्म पार्न लागेपछि भगवान शंकरले उक्त विष पिएर पृथ्वीलाई नास हुनबाट बचाएको तथा विषको राप र डाहले रिसाएर त्रिशूलले खोप्दा त्रिशूलधारा उत्पत्ति भएको र सोही धाराबाट आएको पानीबाट गोसाइँकुण्डको निर्माण भएको धार्मिक पौराणिक कथाहरू उल्लेख छ ।
देवता र दानववीच समुन्द्र मन्थन हुँदा निस्केको कालकुट बिष सेवन गर्दा त्यसको डाह मेट्न उत्तरा पन्थको पहरामा त्रिशुलले बर्जादा कुण्डको उत्पति भएको पौराणिक ग्रन्थ हिमवत खण्डमा उल्लेख छ । पितृ उद्धार तथा स्नान र दानका लागि यहाँ वर्षेनी हजारौं तीर्थ यात्री आउँने गर्दछन् । भगवानले त्रिशूलधाराबाट आएको पानीले प्यास मेटाएको र जमेको पानीभित्र लम्पसार परेर सुतेको किम्वदन्ती रहेको स्थानीय पर्यटन व्यवसायी भीमप्रसाद पौडेल बताउँनुहुन्छ ।
भगवान शिवको त्रिशूल प्रहारबाट धारा उत्पत्ति भएको हुनाले त्रिशूल धाराको नामले आजसम्म प्रख्यात छ । उक्त धारणा पौराणिक धार्मिक ग्रन्थहरूमा समेत उल्लेख भएको स्थानीय बुढापाकाहरू बताउँछन् ।  गोसाइँकुण्ड धार्मिक आस्थाका लागि मात्र नभई पर्यटकीय पदयात्रा गरी दृश्यावलोकन गर्न रूचाउनेहरूका लागि पनि निकै महत्वपूर्ण मानिन्छ । ऐतिहाँसिक धरोहरका रूपमा परिचित कला संस्कृतिको अखण्ड भण्डार गोसाइँकुण्डमा देश विदेशबाट धमाधम तीर्थयात्रीहरू आउने क्रम सुरू भइसकेको छ ।
गोसाइँकुण्ड मार्ग धार्मिक तथा पर्यटकीय र जैविक विविधताका साथ संरक्षित गन्तव्यका रूपमा विकास हँुदै गएको छ । यस क्षेत्रको विकास गर्न सरकारले उच्च प्राथमिकतामा पार्न आवश्यक रहेको स्थानीयवासी निमासिङ्गी तामाङको भनाई रहेको छ  । गोसाईंकुण्ड आसपास भैरव, सरस्वती, सूर्य, रक्त, आमालगायतका एकसय ८ कुण्ड रहेका छन् ।
प्रसिद्ध गोसाइँकुण्ड त्रिशूली हिमनदीको उद्गम् बिन्दु पनि हो । जनैपूर्णिमाका अवसरमा सबै देवी देवताहरूको कुण्डमा जमघट हुने जनविश्वासले पूजाआजा तथा स्नान गरी आनन्द प्राप्त तथा जीवन भरीको पापबाट पुण्य मिल्ने भएको कारण कुण्डमा स्नान गर्न हिडेको नुवाकोट हल्देकालिकाका रमेश गिरीले वताउनुभयो ।
जनैपूर्णिमाको अवसरमा रसुवाको प्रसिद्ध गोसाइँकुण्डमा लाग्ने मेलामा यसवर्ष आउने तीर्थयात्रीहरूलाई सबै प्रकारका सेवासुविधा उपलब्ध गराइने भएको छ । मेला भर्न यस वर्ष २५ हजार भक्त जन आउने लक्ष्य लिइएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिनुभयो ।
कुण्डमा स्नान गरेमा पाप मोचन हुने र भगवान शिवले मनमा चिताएको कुरा पूरा गरी दिने जनविश्वास रहँदै आएको छ । मेलामा आउने भक्तजनहरुका लागि स्वास्थ्य उपचार टोली, खानपिन र बसोबासलगायत प्राथमिक उपचारको व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ । उकालै उकालोको विशेषता वोकेकोे गोसाइँकुण्डमा प्रत्येक वर्षको जनै पूर्णिमा र गंगा दशहराका बेला विशेष मेला लाग्ने गर्दछ ।
गोसाइँकुण्ड मेलाका तीर्थयात्रीहरूलाई बासको व्यवस्था मिलाउन स्थायी होटेलका साथै एकसय ३० वटा अस्थायी थर्कु (छाप्रो) बनाउने कार्य भएको छ । गोसाइँकुण्ड काठमाडौंको बालाजु तथा पृथ्वी राजमार्गको गल्छीदेखि नुवाकोटको विदुरहुँदै रसुवाको धुन्चेसम्म यातायातका साधन र धुन्चेबाट पैदल उकालो हिँडेपछि पुग्न सकिन्छ ।
मेला व्यवस्थापन समितिले गोसाइँकुण्डको पाँचसय मिटर आसपासका क्षेत्रमा अस्थायी थर्कु राख्न नपाइने, धुपी तथा कुनै पनि वनस्पति काट्न वा हाँगा लुछ्न नपाइने निर्णय गरेको छ । साथै गोसाइँकुण्ड तथा कुण्ड जाने मार्गको कुनै पनि क्षेत्रमा फोहर फ्याँक्न नपाइने र ठाउँंठाउँमा राखिएका ड्रममा मात्र फोहर फ्याँंक्नुपर्ने जनाएको छ ।